क्यान्सर पीडित घाइते सहयोद्धालाई मिलन लामाको ३ लाखबढि सहयोग

everest kitchen

काठमाडौं । सशस्त्र जनयुद्धका क्रममा घाइते भएका तत्कालीन माओवादीका सैन्य कमाण्डर नैनबहादुर तामाङ ‘जमिन’को उपचारका लागि उनीसंगैका अर्का कमाण्डर मिलन लामाले ३ लाख ९ हजार रुपियाँ बराबरको सहयोग संकलन गरेर हस्तान्तरण गरेका छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका -५ सुनखानी स्थायी घर भएका पूर्वजनमुक्ति सेना जमिनलाई मिलनसँगै उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिस तामाङले सहयोगका लागि आव्हान गरेका थिए । उक्त सहयोग आह्वान पश्चात् पीडित जमिनलाई देशविदेशबाट सहयोग रकम जुट्न सुरु भएको थियो । तामाङलाई यसअघि रुकुम लगायत स्वदेश तथा विदेशबाट सहयोग आएको थियो ।

आर्थिक अवस्था नाजुक रहेको र उपचार खर्च पनि धान्न नसक्ने भएपछि पुर्वसहकर्मीलाई थोरै भएपनि राहत होस भनेर मानवीय धर्म अनुसार सहयोग गरेको नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य समेत रहेका युवा नेता मिलन बताए । उनका अनुसार त्यतिबेला भिडन्तको समयमा टाउकोमा लागेको छर्रा निकाल्न नसक्दा तामाङ क्यान्सर पीडित बनेका हुन ।

विगत दुई वर्षदेखि क्यान्सरको समस्या झेली रहेका जमिनलाई अहिले मासिक १ लाख ५० हजारसम्म उपचार खर्च भैरहेको छ । उक्त उपचार खर्च उनको परिवारिक आर्थिक अवस्थाले नधान्ने उनका आफन्तहरुले जानकारी दिए । उनको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सहयोग संकलनमा सहयोग गर्ने सम्पुर्णलाई मिलनले धन्यवाद दिएका छन् ।