विवाद बढेपछि पद्मश्री साहित्य र साधना सम्मान दुवै पुरस्कार रद्ध

everest kitchen

काठमाडौं । यस वर्षका लागि घोषित पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवै रद्द भएको छ । दुवै पुरस्कारमा विवाद बढेपछि खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको सोमबार बसेको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

’सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरूको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ प्रतिष्ठानको जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिष्ठानले साहित्यकार मोदनाथ प्रश्रितलाई ’पद्मश्री साधना सम्मान’ र लेखक सञ्जीव उप्रेतीको उपन्यास ’हंस’ लाई २०७६ सालको पद्मश्री साहित्य पुरस्कार दिने निर्णय थियो। प्रतिष्ठानको यो निर्णय सार्वजनिक भए लगत्तै यौनशोषणको आरोप लागेका प्रश्रितलाई सम्मान गर्ने कुरा सामाजिक सञ्जालमा विवादित बन्यो र नैतिकताका आधारमा प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण नगर्ने उप्रेतीले घोषणा गरेका थिए ।

यो विवाद बढेसँगै आइतबार विज्ञप्ति जारी गर्दै प्रश्रितले पनि आफ्नो चरित्रहत्या भएकाले पद्मश्री सम्मान नलिने बताएका छन् ।