एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा आफ्नो काम बन्द गर्ने

everest kitchen

ऐजेन्सी । मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा आफ्नो काम बन्द गर्ने निर्णय गरेको छ । भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण यस्तो निर्णयमा पुगेको एआईले जनाएको छ ।

मानव अधिकारका विषयमा निरन्तर बोल्दै आएको गैरसरकारी संस्था एम्नेस्टी इन्टरनेसनलले सन् १९६१ देखि ७० भन्दा बढी देशमा सेवा पुर्‍याउँदै आएको छ। एम्नेस्टीका अनुसार भारत सरकारले यसको सबै कार्यक्रम र अनुसन्धानहरूमा जबर्जस्ती बन्देज लगाएको बिबिसीले लेखेको छ। सरकारद्वारा संस्थाको बैंक अकाउन्टसमेत फ्रिज गरिदिएको आरोप संस्थाले लगाएको छ।

भारत सरकारले एमनेस्टी इन्टरनेसनलमाथि गैरकानुनी रुपमा आर्थिक सहयोग लिएको आरोप लगाउँदै आएको छ । अर्थमन्त्रालयअन्तर्गत अनुसन्धान इकाई प्रवर्तन निर्देशनालय (ईडी) ले दुई वर्षदेखि त्यही विषयमामा अनुसन्धान गर्दै आएको थियो ।

यसैक्रममा गएको १० सेप्टेम्बरमा संस्थाको बैंक खाता पूर्ण रुपमा रोक्का गरिएको थियो । गत वर्ष केन्द्रीय अन्वेषण ब्युरो(सीबीआई) को एफआईआरपछि ईडीले एआईमाथि अनुसन्धान सुरु गरेको थियो । तर, एमनेस्टी इन्टरनेसनलले भने उक्त आरोपको खण्डन गर्दै सबै कानुनको पालना गरेको दाबी गर्दै आएको छ ।

गत महिना सार्वजनिक एम्नेस्टी इन्टरनेसनल इन्डियाको रिपोर्ट अनुसार हिन्दु र मुस्लिम समुदायमा भएको दंगामा दिल्ली प्रहरीले मानव अधिकार उल्लंघन गरेका थिए। उक्त दंगा यही फेब्रुअरीमा भएको थियो। यसमा दिल्ली प्रहरीले भारतीय अखबार ‘द हिन्दु’ लाई स्पष्टीकरण दिँदै एम्नेस्टीको रिपोर्ट गलत, पक्षपाती र द्वेषपूर्ण रहेको बताएक थिए।