गैरकानुनी बाटोबाट विदेशमा गएका नेपालीलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन

everest kitchen

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । गैरकानुनी बाटोबाट विदेमा गएकाहरुलाई सरकारले उद्धारमा प्राथमिकता नदिएका बेला संसदीय समितिले उनीहरुलाई पनि तत्काल उद्धार गर्न निर्देशन दिएको हो ।

एकचोटी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरु जुनसुकै कारणले विदेशमा अलपत्र परे पनि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन पनि समितिले निर्देशन दिएको छ । त्यस्तै समितिले गैरकानुनी बाटोबाट विदेश पठाउने व्यक्ति र संस्थालाई मानवओसारप्रसार सम्बन्धी प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न पनि गृह र श्रम र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै, विदेशबाट नेपाली फर्काउन उडान संख्या थप्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले विदेशमा अलपत्र नेपाली र स्वदेश फर्कन चाहने नेपालीको लागि सरकारले उचित तरिकाले काम गर्नुपर्नेमा जोड दिएको थियो ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने अधिकांस नेपालीहरुमध्ये अबैधानिक बाटोबाट जानेहरु मर्कामा परेका छन् । उनीहरूलाई विदेशमा रोजगारीको पनि ग्यारेन्टी नहुने र स्वदेश फर्कने सम्बन्धमा पनि कागजी प्रक्रिया नमिल्ने भएपछि झन अप्ठ्यारोमा पर्ने गरेका छन ।