समानता : मन्दिरा मधुश्री

लघुकथा : समानता !

मन्दिरा मधुश्री

“ए रामे ! घाम झुल्किन आँटिसक्यो, यो मोरो भने अझैसम्म पसारिइरहेको छ । छिटो उठ् । खलक्क नुहाएर घर बढार,पुछ् । गाइले दाम्लो चुँडाउन लागिसक्यो । कुँडो बसालेर भकारो सोहोर । टमीको भाँडो माझेर दूध बिस्कुट हालिदे । अनि मलाई नुहाउने पानी तताएर राखिदे ।” माघको बिहानीमा रामु थोत्रो धुस्सामा गुँडुल्किएर मीठो निन्द्रा घुरिरहेको थियो । एउटा कर्कश नारी स्वर एक्कासि भालेको डाकजस्तै च्याँठियो र शान्त भयो ।

“अजय बाबु ! ल यो एक ग्लास दुध र बिस्कुट खाइहाल त । भोक लागिसक्यो । यति खाएर सुतिहाल । निन्द्रा पुगेकै छैन मेरो राजालाई । तिम्रो उमेरका केटाकेटीले त १६ घन्टा त मज्जाले पो सुत्नुपर्छ ।” लवज परिवर्तन भयो तुरुन्तै ।

बिहानको आठ बजेको थियो । ” केरे ! भोक लाग्यो रे ? उज्यालो हुन पाएको छैन । कुकुरले आची पनि नखाई तँ भातेलाई चैँ घिच्न पर्ने ? पेटमा राक्षस बसेको छ कि के हो हायु मोराको ? जा ! गग्रेटो मुनि हिजोको भात छ अलिकति नुन राखेर घिच् । अनि थपक्क घाँस काटेर लिएर आइज ।” त्यही स्वर फेरि पहिलेकै लवजमा कुर्लियो ।

” लौ न सानु ! किन उठेको यति चाँढै ? मैले ब्रस र तातोपानी ल्याइदिएको छु । बाथरुम गएर पानी नछुनु, ट्वाइलेट पेपर नै चलाउनु । चिसो लाग्छ फेरि । कस्तो ज्ञानी बाबु त । अजय भुवादार कम्मलबाट निस्कनलाग्दा लवज र स्वर फेरि परिवर्तन भयो ।

“केरे ! भोक लागेकै छैन रे ? अघि खाएको त्यति जाबोले अहिलेसम्म भोक लागिहाल्छ नि । तिम्रो उमेरका केटाकेटीले त पौष्टिक खानेकुरा छिनछिनमा पो खाइरहनु पर्छ । अन्डा, ब्रेड र ओरेन्ज छ । यति खाएनौ भने त म रिसाउँछु नि । दुवै दृश्यमा परिवेश र मुख्य पात्र एउटै थिए, सहायक पात्र मात्रै फरक । दुवैमा धेरै कुरामा असमानता भएपनि उमेरमा मात्र समानता थियो । दुबै दस वर्षका थिए।