घुस लिएको रकम बाबुको खातामा

everest kitchen

 

काठमाडौं । खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख सन्तोष साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैसाथ चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीमाथि कामै सम्पन्न नगरी झूटा प्रतिवेदनका आधारमा ठेकेदारलाई भुक्तानी दिएर बाबुको बैंक खातामा घूस जम्मा गर्न लगाएको आरोप थियो । अख्तियारले उनका बाबु रामनारायण सुडी र घूस दिने विभिन्न ठेकेदारलाई पनि मुद्दा चलाएको छ ।

खानेपानी संस्थानको बुटवल शाखा प्रमुख साहलाई काठमाडौं आउँदै गर्दा अख्तियारको टोलीले धादिङको धुनिबेंसी खानीखोलामा पक्राउ गरेको थियो । खानतलासी गर्दा उनको साथबाट २ लाख ३३ हजार रुपैयाँ नगद, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर र हिसाबकिताबको कागजात फेला पार्‍यो । अनि कागजको टुक्रा, चेकबुक, डायरी र मोबाइल पनि बरामद भयो । सन्तोषको साथबाट सेतो कागजको टुक्रा बरामद भएको थियो त्यसमा ‘भावना’ भनी ४ लाख १२ हजार र ‘चिराग’ भनी ६ लाख ५६ हजार लेखिएको थियो ।

बुटवलको मिलनचोकदेखि जोगीकुटीसम्म र देवीनगर क्षेत्रमा पाइप विस्तारको ठेक्का अनिता निर्माण सेवाले पाएको थियो । उक्त कम्पनीकी सञ्चालिका शान्ति रानाले अनिता निर्माण सेवाको खाताबाट ८ लाख २२ हजार रुपैयाँ सन्तोषका बाबु रामनारायण साहु सुडीको कृषि विकास बैंकस्थित खातामा जम्मा गरिदिएको खुल्यो । उक्त रकम कमिसनबापतको घूस भएको अख्तियारको दाबी छ । अख्तियारले शान्ति राना र सन्तोषका बाबु रामनारायणलाई पनि मुद्दा चलाएको छ । उनी बयानका लागि अख्तियारसमेत गएनन् ।

अख्तियारले सन्तोष साहमाथि दोस्रो मुद्दा पनि चलायो । खानेपानी संस्थानमा सन्तोषले बुटवलको लक्ष्मीनगरसम्म तीन ठाउँमा पाइपलाइन विस्तार गर्ने भनी ४ लाख ९९ हजारको लागत इस्टिमेट तयार गरे । अनि भावना निर्माण सेवाका सञ्चालक रमेश बेल्बासेसँग सम्पर्क गरी नगरेको काम गरेको भनी ४ लाख ९७ हजार रुपैयाँ निकासा दिए । अनि ठेकेदार बेल्बासेले ४ लाख १० हजार बाबुका नाममा घूस जम्मा गरिदिए । त्यसमा सिनियर प्लम्बर राजेन्द्र रैदासको पनि मिलेमतो रहेको अख्तियारको आरोप छ । अख्तियारले बेल्बासे र सन्तोषका बाबु रामनारायणलाई पनि मुद्दा चलायो ।

खानेपानी संस्थानको कृष्णनगर र बहादुरगन्जको कार्यालय परिसरमा रहेको इनार ३ लाख ९९ हजार रुपैयाँका दरले मर्मत गर्ने भनी दुईवटाका लागि ७ लाख ९८ हजारको लगत इस्टिमेट बनाएको भेटियो । कार्यालय प्रमुख सन्तोषले चिराग कन्स्ट्रक्सनका सञ्चालक नवीन पुनसँग सम्पर्क गरी इनार मर्मत भएको भनी काम नगरी भ्याट बिल मागी झूटो प्रतिवेदन तयार गर्न लगाए ।

चिराग कन्स्ट्रक्सनलाई ७ लाख ९२ हजार रुपैयाँ फर्जी भुक्तानी दिएलगत्तै सञ्चालक नवीन पुनले ६ लाख ५४ हजार रुपैयाँ सन्तोषका बाबु रामनारायण साहुको खातामा जम्मा गरिदिए । अख्तियारको दाबीअनुसार, त्यो रकम सन्तोष साह र दिनानाथ धोवीले बाँडेर लिए । यो मुद्दामा पनि अख्तियारले बाबु र ठेकेदारलाई मुद्दा चलाएको छ ।

अख्तियारको दाबीअनुसार, सन्तोषले अर्को ठाउँबाट पनि घूस लिएको खुल्यो । नेपाल एसबीआई बैंकको खातामा दुई लाख ७५ हजार जम्मा गरेको भेटियो । पानी तान्ने मेसिन खरिदबापतको कमिसन उनले बुझेको अख्तियारको आरोप छ । रकम जम्मा गर्ने स्मार्ट सप्लायर्सका सञ्चालक विकास जैनमाथिसमेत अख्तियारले मुद्दा चलाएको छ ।

अख्तियारले भेरी अस्पताल बाँकेका कम्प्युटर अपरेटर अरुण खनाललगायतमाथि १६ लाख १३ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको छ । उनीमाथि विभिन्न फर्म र पसलेहरूबाट कमिसन लिएको आरोप छ । कमिसनबापत रकम र चेकसमेत उनको कार्यकक्षबाट बरामद भएको दाबी गरेको छ । अख्तियारले उक्त रकम खनालको कार्यकक्षमै राखिएको अवस्थामा फेला परेको र त्यसको स्रोत नखुलेको दाबी
गरेको छ ।

लेखा अधिकृत माधव आचार्य, लेखापाल इन्द्रबहादुर खत्री र सहायक लेखापाल प्रेमबहादुर खत्रीमाथि समेत भ्रष्टाचार मुद्दा चलाइएको छ । उनीहरूमाथि सामान खरिदका क्रममा एक वर्षमा १९ लाख १३ हजार रुपैयाँ घूस लिएको आरोप छ । अख्तियारले अरू ११ वटा सप्लायर्सहरू विरुद्ध समेत घूस दिएको आरोपमा मुद्दा चलाएको छ । कान्तिपुर दैनिकबाट