पेशाको छनौट : श्रीकृष्ण पौडेल

लघुकथा : पेशाको छनौट

श्रीकृष्ण पौडेल

हरेक कुरामा विचार पुर्याएर काम गर्दै मौकामा हिरा फोर्न र बेमौकामा कौडी नछोड्न खप्पिस थिए , गंगाधर बाजे !
असल मान्छेको नाम लिंदा पनि उनको नाउँमा पहिलो औंलो भाचिन्थ्यो । अाफ्ना दुई छोरा राम र लक्ष्मणलाई उनले सानैदेखि असल संस्कार दिए । राम र लक्ष्मणले आफ्नो पढाइलाई सफलताकासाथ सम्पन्न गरे । उनीहरुले वृत्ति विकासमा पनि संलग्न हुनै पर्थ्यो । त्यस्का लागि दुवै भाइले बाबुसंग सल्लाह मागे ।

गंगाधर बाजेले एकछिन विचार गरी घरभित्र पसे । दुईटा थालमा कमिलाले प्वालैप्वाल परेका आलु छोराहरुलाई दिंदै भने , “यति आलु खुर्केर काट त ! कस्ले राम्रो गरि काट्दा रहेछौ हेर्नु पर्यो अनि निर्णय गर्नु पर्ला ।” राम र लक्ष्मणले एक,एक थालका आलु लिएर बाबुले दिएको अग्निपरीक्षामा सामेल भए । दश मिनेट नहुँदै रामले आलु काटि सिध्यायो तर लक्ष्मणले करिव अाधा घण्टा लगाएर सिध्यायो । गंगाधर बाजेले दुबैलाई बोलाएर छिटो र ढिलो हुने कारण सोधे।

“मैले त बाहिर राम्रा राम्रा देखिने आलुहरु छानेर राम्ररी पानीले पखालें र खुर्कें अनि काटें । ” रामले जवाफ दियो !
लक्ष्मणले भन्यो , “ बाबा ! मैले पहिला आलुलाई पानीले राम्ररी पखालेर बोक्रा ताछें । कमिलाले खाएका आलु सकेसम्म कम खेरजाने गरि कोट्याउँदै पखाल्दै गर्दा समय लाग्यो । आलु खेरजान पनि भएन र आलुमा माटो रहन पनि भएन नि ! हैन र बाबा ?

लक्ष्मणको उत्तरले गंगाधर बाजेको मन प्रशन्न भयो र तत्कालै दुवैलाई बोलाएर आफ्नो निर्णय सुनाए – “बाबु लक्ष्मण , तिमीले समाजसेवा गर्नू ! तिमीमा मैले गहिरिएर समाजको दूरदराज सम्म पुग्नसक्ने क्षमता देखें । अनि रामले ब्यापार गर्नू ! ब्यापारमा बाहिरी रुप रंगको मात्र महत्व हुन्छ । तिमीमा बाहिरी आवरण पहिचान गर्ने राम्रो क्षमता छ । त्यसैले मैले तिमीहरुलाई स्वभाव अनुसारको उपयुक्त पेशा छनौट गरिदिएको छु । त्यसैमा दत्तचित्त भएर काम गर्नू , अवश्य सफल हुने छौ ।”