क्यान्सर पीडित ५ वर्षीय सविन राईलाई आर्थिक सहयोग

everest kitchen

काठमाडौं । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौँको बेडमा उपचाररत भोजपुर जिल्ला टेम्केमैयुँ गाउँपालिका वडानम्बर ८ निवासी सविन राईको उपचारको सहयोग आएको छ ।

भोजपुर सेवा समाजले फेसबुकमार्फत अपिल गरेकोमा हङकङ र जापानका नेपालीहरूबाट २० हजार सहयोग आएको हो । उक्त सहयोग विरामीका बुबा सन्तोष राईलाई भोजपुर सेवा समाजका सचिव तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शशि लुमुम्बु र सर्जक शुक्र राईबाट हस्तान्तरण भएको छ ।

हङकङ साझा साहित्य श्रृङ्खलाका दाजु गुरुङ, सुनिता गिरि, टिबी याक्खाको सक्रियतामा तत्कालका लागि रूपैया १० हजार सहयोग पठाएका हुन् । आर्थिक अवस्था अत्यन्त नाजुक भएका सविन राईलाई जतिसक्दो सकिन्छ, सहयोग गर्नुको लागि प्राज्ञ लुमुम्बुले पुनः अपिल गरेका छन् ।

त्यसैगरी लामो समयदेखि जापानमा कार्यरत सानु तामाङले पनि लुमुम्बुको फेसबुक पोष्ट हेरेर रूपैया १० हजार २ सय ४६ रूपैया सहयोग पठाएका छन् । नगरकोट भक्तपुरका सानु लामाले काठमाडौंमा रहने शुक्र राईलाई सम्पर्क गरी उक्त सहयोग हस्तान्तरण गर्न लगाएका हुन् । यस्तो समस्या परेको बेला सानु तामाङ सहयोग अगाडि सरिहाल्ने व्यक्ति भएको कुरा शुक्र राईले बताए ।

विरामीका बुबा सन्तोष राईले आफ्नो सन्तानको ज्यादै माया लागेर नै सहयोगको अपिल गर्न पुगेको बताए । अहिलेसम्म २२ लाख सकिएको र अझै के कति लाग्ने हो, थाहा नभएको उनको भनाई थियो । हङकङ र जापानबाट आएको यो सहयोगले आफूलाई केही राहत मिलेको भन्दै सन्तोषले धन्यवाद व्यक्त गरेका थिए । ५ वर्षीय छोरा सविन राईका बुबा सन्तोष सामान्य किसान हुन् ।

घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उपचारमा कठिनाई भएर नै अपिल गर्नुपरेको समाजका सचिव लुमुम्बुले बताए । समाजले बैंक खाता तथा विरामीका बुबाको सम्पर्क तथा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको सम्पर्क र बैंक खातासहित सार्वजनिक अपिल गरेको छ ।