सन्तान : मीरा राजभण्डारी अमात्य

लघुकथा : सन्तान

मीरा राजभण्डारी अमात्य

विदेशमा बस्दा उनलाई आफन्तको संझना खुब आउथ्यो । साथीभाइसंग कुरा गर्न मन लाग्थ्यो । । एकदिन उनले अाफ्नी प्रिय साथीलाई दिनभर सामाजिक सन्जालमा खोजिन् तर पत्तो लागेन । संयोगवस् उनकी छोरी अनलाइनमा देखिइन् । उनी खुशी भइन् । उनले छोरीसंगै भएपनि कल पाउने अाशमा कल लगाइन् । दुई पटक कल काटियो । उनले सोचिन् , व्यस्त होलिन् ।

केही क्षणपश्चात फेरि कल गरिन् । बल्ल बल्ल कल उठ्यो । “नानी, तिम्रो आमासँग एकपटक कुरा गर्न मन लाग्यो ´´ भन्दै आग्रह गरिन् । उताबाट ठाडो जवाफ आयो , “मम्मीको आफ्नै फेसबुकमा गर्नुस् । “ होइन, आइडी फेला परेन क्या ! देऊ न , ´´उनले पुन अाग्रह गरिन् ।
“होइन, म बिजी छु । म दिन सक्दिँन ´´भन्दै लाइन काटिन् ।

बारम्बारको उनको प्रयास असफल भयो । अनि अन्तिमपटक कल गरेर भनिन् , “ तिम्रो ममीको फेसबुक आइडी बनाइदेऊ न त नानी ´´! च्याठ्ठिदै जवाफ आयो, `सि ह्याज मास्टर्स डिग्री कान्ट सी मेक हर फेस बुक आइडी ? आइ ह्याब नो टाइम फोर दोज नटोरियस एन्ड युजलेस जब´ । जवाफ सुनेर उनी अवाक भइन । चुप लागिन् । उनले अब रहर र मन मारेर बस्नु पर्यो ।

केही बर्षपछि उनी नेपाल फर्किन् । समय मिलाएर तिनै साथीलाई भेट्न गइन् । प्रसंगवस् भनिन् , `होइन , अहिलेको जमानामा जाबो फेसबुक पनि डाउनलोड नगरेर कस्तो जुम्सो बस्नु भाको तिमी त ? ´´उनले निराश हुँदै भनिन् , “होइन, मेरो मोबाइलमा फेसबुक, भाइबर केही राख्न मिल्दैन ।´ `हो र ? खोइ हेरम त´ मोबाइल मागिन र हेरिन् । हेरेको हेरै भइन् । कठैबरा ! जमानाको साम्सुङ मोबाइल , फोन मात्रा गर्न मिल्ने थियो ।