प्रयोगपछि फालिएका मास्कबाटै जोखिम

everest kitchen

लमजुङ । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ ।

सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्लामा उच्च जोखिम बढ्न थालेको हो ।

चाडपर्व नजिकिएसँगै किनमेलका लागि शहरबजारका पसलमा र विभिन्न कार्यालयहरूमा आउने सेवाग्राही तथा सर्वसाधरणको भीड बढिरहेको र कोरोनाको जोखिम बढीरहेको बेला अधिकांशले मास्क बिना हिड्डुल गर्ने र प्रयोग गरेकाहरूले समेत जथाभावी फाल्ने गर्दा स्थानीय बासिन्दा त्रस्त भएको बेँसीशहर नगरपालिका ७ का बिपिन श्रेष्ठले बताए।

प्रयोग गरी फालिएको मास्कमा थुक, ¥याल र सिँगानको छिटा रहेको हुनसक्ने र यसबाट अन्य ब्यक्तिलाई सङ्क्रमण हुनसक्ने चिकित्सकहरूको भनाइ छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणमा जिल्लाबासी नै जिम्मेवारी तथा सचेत रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भन्नुभयो, “प्रशासनले आम नागरिकलाई सचेत रहन, मास्क अनिवार्य प्रयोग गरेर, हिँड्न आग्रह गर्दै आइरहेको छ तर पनि प्रशासनको बेवास्ता र कोरोना सङ्क्रमणकै बेवास्ता गरेका कारण जिल्लामा थप जोखिम बढिरहेको छ ।”

जतिसुकै सचेतनामुलक सूचना जारी गरेपनि कोरोना सङ्क्रमणबाट बच्न विभिन्न तरिका अपनाउन अनुरोध गरेपनि नागरिकहरूले लार्पबाही गरिरहेका छन् ।