मलेसियामा बेवारिसे अवस्थामा भेटिएका झापाका रोहन राईको निधन

everest kitchen

मलेसिया । झापा जिल्ला घर भई हाल मलेसियामा अबैधानिक रुपमा बसोबास गर्दै आएका रोहन राईको मृत्यू भएको छ । यहि शुक्रबार अक्टोबर १६ तारिख नेपाल एम्बेसी भन्दा २ सय मिटर जतिको दुरीमा बेसाहारा अवस्था भेटिएका राईलाई नेपाल एम्बेसीका कर्मचारीहरुले सोधपुछ गरेर नेपाली हो भन्ने थाहा पाएपछि उद्दारको पहल गरिएको थियो ।

बोल्न सक्ने तर हिडन नसक्ने अवस्थाका राईलाई तत्काल हस्पिटल लान खोजिए पनि उनको आधिकारीक कागजात नभएकोले अस्पतालले भर्ना नगर्ने हुँदा उनलाई प्राथमिक उपचारको लागि नजिकैको क्लीनिक लगेर औषधि उपचार गरिएको थियो । ‘शुक्रबार दिउसो उनलाई भेटेका हौं, नेपालमा उनको परिवारलाई कागजात मगाएर डकुमेन्ट बनाएर अस्पतालमा भर्ना गर्ने हाम्रो योजना थियो ।’ नेपाल एम्बेसीका एक कर्मचारीले बताए ।

शुक्रबार बेलुकी क्लीनिक लगेर प्राथमिक उपचार गरेपछि उनलाई एनआरएनए मलेसियाको सहयोगमा उनलाई सरसफाई गरेर एक होस्टलमा राखिएको थियो । शुक्रबार र शनिबार राम्ररी खाना खाएर सुतेका राई आइतबार बिहान एक्कासी अचेत भएका थिए । ‘सोमबार एम्बेसी खोलेपछि उनको डकुमेन्ट बनाएर अस्पताल भर्ना गर्ने तयारी भएको थियो तर, नसोचेको घट्ना घट्यो ।’ उद्दारमा खटिएका एनआरएनका एक सदस्यले बताए ।

मृतक राईको शरिरको बिभिन्न भाग बाट विशेष गरि खुट्टा सुन्निएर पानी (पीप जस्तो तरल पदार्थ) बगिरहेको थियो भने पेट पनि फुलेको थियो । ‘उनको बिरामि हेर्दा पुरानो जस्तो देखिन्थ्यो, शरीरको बिभिन्न भाग सुन्निएर हिड्नै नसक्ने अवस्थाका थिए ।’ उद्दारमा खटिएका एनआरएनका एक सदस्यले बताए ।

मृतकको घरमा सम्पर्क गरेर उनको आवश्यक कागजात मगाउने काम भईरहेको र उनको परिवारको आग्रह बमोजिम उनको लासको टुगों लगाउने नेपाल एम्बेसी श्रोतले बतायो ।