दुई महिना देखि अभाव भएको रासायनिक मल आउने क्रम जारी

everest kitchen
photo file

वीरगञ्ज । विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ ।

चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र दशैँपछिलगत्तै बाँकी रहेको चार हजार मेट्रिक टन पोटास आउने सो कार्यालयका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले राससलाई बताउनुभयो ।

तेस्रो मुलुक बेलारुसबाट भारतको वैशाखापटनम बन्दरगाह हँुदै रेलमार्गद्वारा वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा आएको सो पोटास वीरगञ्जको मुर्लीचोकस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा आएको छ । पर्सामा सो कार्यालयले आफ्ना ९५ वटा डिलरमार्फत अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा रु ६७ लाख दुई हजार २०० मूल्य बराबरको २१६.२ मेट्रिक टन पोटास बिक्री गरेको छ ।

बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल दशैँपछि आइपुग्ने प्रादेशिक प्रबन्धक केसीले बताए । आयातकर्ताले ठेक्का पाइसकेकाले तोकिएकै अवधिमा सो मल नेपाल आउने बताइएको छ । बङ्गलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरियामध्ये पर्साका लागि २५ हजार मेट्रिक टन युरिया मल हुने भएकाले लामो समयदेखि युरिया मलको देखिएको अभाव समाप्त हुने उनले बताए ।