लघुकथा : कोरोना प्रभाव
लक्ष्मी उप्रेती
“बैनी माइत त लामै बस्नु भयो नि, लकडाउनमा परेर हो कि क्या हो? ´´ झण्डै दुई महिनापछि आउन पाएकी कलालाई छिमेकी दिदीले शङ्कालु अनुहारमा प्रश्न गरिन्।
“हो नि दिदी , १५ दिनका लागि बल्ल बल्ल माइत गएकी थिएँ। अचानक लकडाउन भएर आउन सम्भव नै भएन। हिजो गाडी चल्ने भयो भनेपछि हतारहतार गरेर डबल भाडा तिरेर हिडेकी मान्छे यतिखेर आइपुगें।” – बोल्न मन नपरे पनि गेटको ढोका खोल्दै कलाले भनिन्।
“ए बैनी, गाउँबाट आउनेले त यता कोरोना बोकेर ल्याए भन्छन । बरू तपाईँले पनि कोरोना परीक्षण गर्नु भए ढुक्क हुन्थ्यो । बाहिरको क्वारेन्टाइनमा केही दिन बसेर चेक गरेर आउनु भए हुन्न ?”
“हैन दिदी, घरमा सुविधाजनक कोठा छदैछन्। घरमा नै क्वारेन्टाइनमा बस्छु। “- आफ्नो निर्णय सुनाएरभित्र पसिन्।
फेरि भाडामा बस्ने बैनी निस्किन् र आश्चर्यमा पर्दै -” दिदी कहिले आउनु भयो?” मुख छोप्दै प्रश्न गरिन्। “आउदै छु, भर्खर।” “ए! उसो भए कोरोना चेक नगरी घरमा आउनु भयो त?” – शङ्का नै गरेजस्तै पो गरिन् त। “घरमै क्वारेन्टाइनमा बस्छु र परीक्षण गराउनु परेमात्र गर्छु। ” कला झ्वाँकिदै फटाफट माथि चढिन् । आफ्नो घरमा अर्काको खटन भनेर मनमनै भट्याइन् ।
उनीसँगै परिवारका सबै सदस्यहरू सचेत थिए। उनलाई क्वारेन्टाइनको व्यवस्था सहज रूपले गराए। रेखदेख खानपिनमा बिचार पुर्याए। अरू त उनले आफैंले गर्थिन् । केही लक्षण नदेखिए पनि १४ दिनको कठोर एकान्तबासपछि कला परिवारको सामिप्यतामा आइन्।
त्यसबेला तल एम्बुलेन्सको साइरन सुनियो। के रैछ भनेर झ्यालबाट हेर्दै थिए तिनै भाडामा बस्ने बैनी सुटुक्क आइन् , “पल्ला घरका दाइ दिदीलाई नै कोरोना पोजेटिभ भएछ। अचानक श्वास फेर्न नै गारो भएकाले अस्पताल लानुपर्ने भएर एम्बुलेन्स आएको “- भनेर सुनाइन्। खै किन हो उनीहरू प्रति कलाको मनमा नजानिँदो ढंगले सहानुभूति पलाएर आयो ।