पाटन सिल, देहिमाडौँ बन्द

everest kitchen
photo file

बैतडी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरेको हो ।

शनिवार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो ।
पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरप्रमुख चन्दले बताए । यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाइएको हो । उक्त निर्णयको कसैले उल्लंघन गरेमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै बलिमा रोक लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । यसैबीच दशरथचन्द नगरपालिका २ स्थित देहिमाडौँ बजार दुई दिनका लागि बन्द गरिएको छ । यसका साथै सवारी आवागमनमा रोक लगाईएको छ । महाअष्टमीका दिन जिल्लाकै सबैभन्दा बढी बलि हुने देहिमाडाँैस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने मेला, जात्रा तथा बलि हुने भएकोले भीडभाड कम गर्न बजार बन्द र सवारी अवागमनमा रोक लगाएको हो ।