लघुकथा : मिलनको झट्का
बिमला ढुङ्गाना
“ओके!अब टीकाको दिन गुहेश्वरीमा भेटौंला । कुरो त्यही भयो, बरु समयमा नै आऊ नि फेरि ! कुर्नु परेमा त बोर हुन्छ,अनि म बैनी मात्र लिएर अाउने भएँ । तिमीले पनि धेरै मान्छे नल्याउनू , है ! ल बाई ´´ भन्दै रश्मीले फोन राखिन् ।
रुपेशको मनमा कुराहरु खेल्न थाल्यो । नयाँ जीवन शुरु गर्न लागेकोले ऊ भविष्यको मिठो कल्पना गर्न थाल्यो । फेरि बिगत संझियो । कहिले पनि माया नबसेको गोरीलाई संझियो । ठुलठुला आँखा, मिलेको शरीर र सुन्दर मुहारकी गोरी , चामलको पिठो जस्तै सेती र बिछिट्ट राम्री थिई। बिबाह पछि सानो सानो निहुँमा विवादहरु बढ्न थाल्दा दिनहुँ मारामार गर्न थाले पछि परिवारले कुनै दुर्घटना नहोस् भनेर दुबैको राजीखुशीमा छोडपत्र गराइदिएका थिए । त्यसपछि दुबैजना आ-आफ्नो बाटो लागे र सम्पर्कमा अाउन चाहेनन् । ऊ युरोप हिड्यो । केही वर्षपछि ऊ नयाँ जिन्दगी सुरु गर्ने योजना बुन्न थाल्यो ।
फेसबुकमा सुन्दर गुलाबको प्रोफाइल पिक्चर राखेको प्रोफाइलमा उसको मन अडकियो । प्रकृतिप्रतिको मोह उसमा देखिन्थ्यो । सम्पर्क गर्यो । महिला रहिछिन् । साथी बन्यो । बिस्तारै सम्बन्धले प्रेमको रूप लिन थाल्यो । दुबै प्रकृतिप्रेमी स्वभाव भएकोले पनि होला फेसबुकको सम्बन्ध झाङ्गियो । माया पलाउन थाल्यो ।उनीहरूले एक अर्काको फोटो हेर्न पनि चाहेनन् । बरू बिहे गर्ने निर्णय भयो।
योजना मुताबिक नेपाल आएर दशैं टीकाको दिन एकैपटक गुहेश्वरीमा पुगे। बेहुलाको पहिरनमा ऊ कुनै सिनेमाको हिरो जस्तो देखिएको थियो । बेहुलीको सजावटमा उनी घुम्टीले मुहार छोपेर मण्डपमा माला हातमा लिएर उभिएकी थिइन् । साइतको मंगल मन्त्रसंगै बरलाई बधुले र बधुलाई बरले माला एकै पटक लगाउन उनले घुम्टो उठाइन्। दुवै एक अर्कालाई हेरेको हेरेकै भए। दुबै जनालाई झट्का लाग्यो दुबैले एकैपटक भने , “रुपेश तिमी ! गोरी उर्फ रश्मि तिमी ´´!