रअ प्रमुखको भ्रमणबारे परराष्ट्र मन्त्री ज्ञवालीलाई संयोजक मिश्रका ८ प्रश्न

everest kitchen

 

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ८ प्रश्न सोधेका छन्।

आइतबार बिहान रेडियो कान्तिपुरसँग अन्तर्वार्ताका क्रममा मन्त्री ज्ञवालीले गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रूपमा नेपाल आएको बताएका थिए। परराष्ट्र ज्ञवालीको उक्त अभिव्यक्तिपछि संयोजक मिश्रले सामाजिक सञ्जालमा उनलाई यी गम्भीर प्रश्नहरू सोधेका हुन्।   यस्ता छन् मिश्रका प्रश्न:

१. त्यसो (मोदीका प्रतिनिधि भएर) हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको?
२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलेको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्ण रूपमा हेपेको हो कि होइन?

३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?
४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन्?

५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन? परराष्ट्र मन्त्रालयसँग समन्वय भयो कि भएन?
६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन’ किन भनेको? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन?
७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए?
८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन्?

मिश्रले खुफिया एजेन्सीका प्रमुखसँग प्रधानमन्त्रीले बालुवाटारमा भेटेको तर आमनागरिकलाई जानकारी नदिएकोमा रोष व्यक्त गरेका छन्। ‘ढाकछोपको पनि सीमा हुन्छ। यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो। सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको गम्भीर आरोपमा छानबिन हुन सक्थ्यो,; मिश्रले भनेका छन्, ‘तर विडम्बनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ।’

यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि उक्त भेटको विरोध गर्दै कूटनीतिक आचारसंहिता विपरीत किन खुफिया एजेन्सीको प्रमुखलाई प्रधानमन्त्रीले भेटेको भन्दै प्रश्न गरेका थिए।