काठमाडौंका प्रजिअ दाहाललाई कोभिड संक्रमण

everest kitchen


काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५२१ रहेको छ । ललितपुरमा कुल ८३५० संक्रमितमा ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २४७० रहेको छ ।

भक्तपुरमा कुल ५५१९ संक्रमित भएकमा ४३८३ निको भएका छन् र ६१ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ । बिहीबार देशभरमा भने २३६४ जना संक्रमित भेटिएका छन् ।