लघुकथा : माइला बाको पुनर्जिवन
सत्या अधिकारी
रातदिन समाचार हेर्नुपर्ने, सुनेर अरुलाई सुनाउनु पर्ने, आफुलाई टोलभरिकै जानकार ठान्ने माइला बा, पर्यो भने लिखाको पनि बोसो निकाल्न सक्छन् । एउटै मास्क् र पन्जाले दस दिनसम्म पुर्याउने उनि यो कोरोना एक जनाबाट कसरी अर्कोमा सर्छ भन्ने कुरामा खासै मतलब गर्दैनन् , खाली अरुले आफुलाई सार्छन कि भन्दै सतर्क गराउँछन् ।
खोक्दा हाँछ्यु गर्दा कुहिनाले मुख छोप्नु पर्छ भन्दै हिड्ने उनी आफुचाहीँ ओडार खुल्लै गरेर खोक्छन् , लोभैले होला रक्सी मिसाछ भन्दै स्यानिटाइजर पनि किन्दैनन् ।साबुन खर्च हुन्छ भनेर बिसौं दिन सम्म पनि एकजोर पन्जाले पुर्याउँछन् । हाँसोको पात्र छन् हाम्रा माइलाबा।
घरमा नातिले सम्झाउँदा पनि उल्टै रिसाउछन। अरुलाई भिड्भाडमा जानुहुन्न भन्ने माइला बा आफू भने घरभरी तरकारी हुँदा पनि दिनको एकपटक तरकारी बजार नगएको दिन हुन्न।अरुलाई तातो पानी धेरै पिउनु पर्छ, पानीले सबै रोग ठिक पार्छ भन्दै भाषण छोड्ने उनी आफू चाहिँ तिर्खा लागे पो खाने ! भन्दै परिवार सँग झर्कन्छन् ।बेहोसी र लोभी माइला बा यो कोरोना रोग आएर पैसा बचेको, नत्र यी केटाकेटिले कति बाहिरको खाना खान्थे, डुल्न जान्थे, लुगाफाटो किन्थे भन्दै बच्चाहरु सङ गुनासो गर्छन् ।बिचरा केटाकेटी सबै रिसले चुर।
एक दिनको कुरा हो। उही निलोबाट कालो भैसकेका पन्जा र मास्क लगाएर बल्खु तरकारी बजार गएका माइला बा एक पाउ गोलभेडा रआधा किलो बोडि लिएर घर मात्र के आइपुगेका थिए ,अचानक ख्वाङ ख्वाङ गर्दै सुख्खा खोकि खोक्न थाले।बेलुका बाट त झन ज्वरो पनि आउन थाल्यो,सिटामोलले पनि छोएन।घरका सबै जहान अतालिन थाल्दा पनि माइला बालाई मैले कतै कोरोना त ल्याइन? भन्नेमा कुनै शङ्का थिएन।त्यै कालो मास्क र पन्जामा ढुक्क थिए माइला बा।
भोलिपल्ट परिवारको सल्लाहले टेकु अस्पतालमा गएर खकार र सिन जचाउँदा रिपोर्टले माइला बाको कोरोना पोजिटिभ देखायो। परिवार भरी डर र त्रास छायो, माइला बा पनि झसङ्ग भए । अबभने बल्ल माइला बाको दिमागको बिर्को खुल्यो । माइलाले सतर्कता अपनाउँदै मन बलियो बनाए । अचेल भन्छन् , जावो कोरोना भनेर लापरबाही त गर्न हुदो रहेनछ।