प्रतिष्ठानको ‘लोकसाहित्य सिद्धान्त’ प्रकाशित

everest kitchen

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका प्रा.डा. कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको परियोजना कार्यअन्तर्गत तयार पारिएको हो ।

लोकवार्ता, लोकसाहित्य, लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोककथा, लोकनाटक, गाउँखाने कथा, उखान, टुक्का, लोकबाजा र नेपाली लोकसाहित्यको सङ्कलन तथा अध्ययनको परम्परा जस्ता मूल शीर्षकका तेह्रओटा परिच्छेदअन्तर्गत विभिन्न उपशीर्षकहरूमा विभाजित प्रस्तुत कृतिमा सम्बन्धित विधाको सैद्धान्तिक जानकारीका साथै प्रकार र उदाहरणहरूसमेत प्रस्तुत गरिएको हुनाले यो कृति लोकसाहित्यका अध्येताहरूका लागि निकै उपयोगी सामग्री बनेको छ ।

गहन अध्ययन, अनुसन्धान र विश्लेषणका आधारमा तयार पारिएको प्रस्तुत कृतिमा नेपालका विभिन्न विश्वविद्यालयहरूका विभिन्न तहमा अध्ययन र अध्यापन गराइने लोकवार्ता तथा लोकसाहित्यसम्बन्धी पाठ्यक्रममा समेटिएका सबै विषयक्षेत्रहरू एकै ठाउँमा पाइने हुनाले यो कृति सम्बन्धित क्षेत्रका प्राध्यापक तथा विद्यार्थीहरूका लागि निकै उपयोगी र पूर्ण सामग्री बनेको छ ।

साथै लोकसाहित्यको कुनै पनि क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न चाहने अनुसन्धाताहरू र जिज्ञासु पाठकहरूका लागि पनि यो कृति उपयोगी रहेको जानकारी नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले दिएको छन् ।

मूल्य रु. ५१० राखिएको ६०४ पृष्ठको ‘लोकसाहित्य सिद्धान्त’ कृति प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्षबाट लिन सकिने कुराको जानकारी प्रतिष्ठानले दिएको छ ।