खतिवडाको राजतन्त्र देखि गणतन्त्रसम्म निरन्तर राजनीतिक नियुक्ति

everest kitchen

काठमाडौं। सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ । खतिवडा राजतन्त्रदेखि गणतन्त्रसम्म निरन्तर नियुक्ति पाउने व्यक्तिका रूपमा चिनिनुभएको छ ।
राष्ट्रिय योजना आयोगबाट बिदा भएलगत्तै राष्ट्र बैंकको गभर्नर बन्न सफल हुनुभएका खतिवडा राष्ट्र बैंकबाट बिदा भएलगत्तै पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा परेकै कारण खतिवडाले राष्ट्रिय सभामा मनोनित भएको केही दिनमै अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । राष्ट्रिय सभाको कार्यकाल सकिएसँगै अर्थमन्त्रीबाट हटेलगत्तै पुनः सरकारले सरकारको विशेष आर्थिक सल्लाहकारका रूपमा नियुक्त गरेको थियो । मन्त्रीसरहको सुविधासहित आर्थिक सल्लाहकार हुनुभएका खतिवडालाई एक महिना पनि बित्न नपाउँदै सरकारले अमेरिकाका लागि राजदूतमा सिफारिस गरेकोे छ ।

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनको बेलामा राष्ट्रिय योजना आयोगमा नियुक्ति पाउनुभएका खतिवडाले जनआन्दोलनपछि फेरिएको व्यवस्थामा पनि निरन्तर राजनीतिक नियुक्ति पाइरहनुभएको छ । २०५८ देखि शुरु भएको उहाँको नियुक्तिको शृंखलाले सबैलाई आश्चार्य चकित बनाएको छ । नेकपाभित्र लामो त्याग र बलिदान गरेका नेताहरूलाई पाखा लगाउँदै पार्टीमा कुनै लगानी र योगदान नै नभएका खतिवडालाई प्रधानमन्त्रीले अर्थमन्त्री बनाउनुभएको थियो । जुन निर्णयको पार्टीभित्र चर्को आलोचना भए पनि प्रधानन्त्रीले बचाउ गर्नुभएको थियो ।

२०५८ मा राष्ट्र बैंकको जागिरबाट अवकास भएसँगै २०५८ मै तत्कालीन सरकारले राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा नियुक्त गरेको थियो । योजना आयोगमा ५ वर्षे कार्यकाल सकिएलगत्तै खतिवडा २०६२ मा तीन वर्षका लागि यूएनडीपीको क्षेत्रीय केन्द्र, कोलम्बोमा वरिष्ठ अर्थविद्का रूपमा नियुक्ति हुनुभएको थियो ।

यूएनडीपीको तीनवर्षे कार्यकाल सकेर नेपाल फर्किएका खतिवडा फेरिएको व्यवस्थामा पनि खाली बस्नुपरेन । उहाँलाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्ति गर्नुभएको थियो । नेपाल नेतृत्वको सरकारले खतिवडालाई २०६६ असारदेखि नियुक्ति दिएको थियो ।

राष्ट्रिय योजना आयोगमा नियुक्ति पाएको ९ महिना नबित्दै तत्कालीन सरकारले २०६६ को चैतमा राष्ट्र बैंकको गभर्नरमा नियुक्ति दिएको थियो । ५ वर्षे कार्यकाल सकेर २०७१ फागुनमा खतिवडा गभर्नरबाट बिदा हुनुभएको थियो । गभर्नरबाट बिदा भएका उहाँलाई ओलीले २०७२ कात्तिक १७ मा योजना आयोगको उपाध्यक्षका रूपमा नियुक्ति गर्नुभएको थियो ।

राष्ट्रिय योजना आयोगबाट ३ वर्षे कार्यकाल सकाएर बिदा भएका खतिवडालाई पुनः प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा सदस्यमा नियुक्त गराउनुभएको थियो । सरकारले २०७४ फागुन ८ मा राष्ट्रिय सभा सदस्यको रूपमा सिफारिस गरेको थियो । विज्ञका रूपमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएका खतिवडा अत्यन्तै विश्वास पात्रका भएकै कारण २०७४ को फागुन १४ देखि ओलीले अर्थ मन्त्री बनाउनुभएको हो । आजको समाचारपत्रबाट