लघुकथा: ज्वालामुखी

लघुकथा: ज्वालामुखी

कमला ओझा

तराईको गर्मी , घाम पृथ्वीतिरै झर्दै छ कि भन्नें भान भइरहेको थियो । असारको महिना भएपनि आकाशमा वादलको टुक्रा समेत कतै देखिंदैनथ्यो । रुखको फेदमा बसिरहेका कौवाहरु पनि प्रचण्ड गर्मी खप्न नसकेर मुख बाइरहेका थिए ।

“आज त दुईटा घाम लागो कि के हो ? ” एक्लै बर्बराउँदै हात निधारमा राखेर वीरबहादुरले आकाशतिर हेर्यो । त्यसपछि त्यही हातले निधारका पसिना पुछ्यो र ट्रकको छेउमा पुग्यो । ” ए वीरे कति अल्छी गर्छस, हँ ? तँलाई भनेर ट्रक बसिरहने हो र ? यस्तै पाराले त त्यति चामल झार्न दिनभरि लाग्छ ।” फ्यानको तलतिर बसेर गाम्छाले अनुहार पुछदै भुँडे साहु करायो ।

“गरिरहेकै त छु नि हजुर , यस्तो गर्मी छ ।” वीरबहादुरले भन्यो । “गर्मी हुन्छ , भातमारा ! एकथोपा पसिना आको छैन । खुरुखुरु बोकेको भए पो निस्कन्थ्यो पसिना पनि “, साहु च्याँठियो । “हाम्रो शरीरभित्र ज्वालामुखी लुकेको हुन्छ साहुजी, त्यसले शरीरभित्रको पानी भित्रै सुकाइदिन्छ । ´´ वीरबहादुरले कडा स्वरले जवाफ दियो र अर्को बोरा लिन गयो ।