नेपालमा प्रकोपका गम्भीर बिरामी बढ्दै

file photo

काठमाडौं । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ । आइतबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । आइतबार २२ हजार २ सय १९ जना सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।

सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार १ सय ५३ जना होम आइसोलेसनमा छन् । प्रदेश १ मा १ हजार ८ सय ५०, प्रदेश २ मा ५ सय ५८, प्रदेश ५ मा १ हजार २ सय २, सुदूरपश्चिम प्रदेशमा ४ सय १८, गण्डकी प्रदेशमा ५ सय ३२ र कर्णाली प्रदेशमा २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।