जनप्रतिनिधि भनेको यस्तो पो! जसले सरकारी सुबिधाको एक पैसा लिएका छैनन्

everest kitchen

सर्लाही । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन छन् । उनले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुधिा लिएका छैनन्।

ती सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा विपन्न नागरिकको जीवनस्तर माथि उकास्न लगानी गरेका छन् । उनी तत्कालीन एनेकपा माओवादीबाट निर्वाचित भएका थिए । उनी भन्छन् “गाउँ गाउँमा सिंहदरवारको राष्ट्रिय नारालाई सार्थक पार्न र विपन्न जनताको जीवनस्तर माथि उकास्न कुनै सरकारी सेवा सुविधा उपभोग नगरी तल्लीन भएको हुँ । ”

नगर प्रमुखले हालसम्म सरकारी रकमबाट एक कप चिया पनि नखाएको प्रमुख प्रशासकिय अधिकृत विमलकुमार पोख्रेलले जानकारी दिए । “नगर प्रमुख चिया खान आफ्नो निजी निवास तथा होटल जानुहुन्छ । नगरप्रमुखले अहिलेसम्म नगरको रकमबाट व्यक्तिगत प्रयोजनका लागि एक रुपैँया पनि खर्च गर्नु भएको छैन ।” उनले भने।

नगर प्रमुख थापाले निर्वाचनको समयमा जनतासित मत माग्दा जनाउनु भएको प्रतिवद्धता अनुरुप सरकारी सेवा सुविधा उपभोग नगर्नु भएको नगर उप प्रमुख लिलाकुमारी मोक्तानले बताईन।

नगर प्रमुखले नगरमा आएको बजेटमा अनियमितता नहोस् भन्नका लागि वडा अध्यक्षलाई बजेट विनियोजन गर्नुभएको छैन । उहाँले योजना लिएर आउने, योजना पास गराउने र काम सकेर बजेट लैजाने भन्दै सबै वडा अध्यक्षलाई बताउनुभएको वडा नं २ का वडाध्यक्ष दीपक लामाले जानकारी दिए । नगर प्रमुख नगरपालिकाको कामले बाहिर जानु पर्दा समेत आफ्नो निजी खर्च गर्ने गरेको नगरपालिकाले जनाएको छ । नगर भित्रका विपन्न नागरिकलाई नगरप्रमुख थापाले निजी खर्चमा उपचार तथा खाद्यन्न सहयोग समेत गर्दै आएको बताएको छ । रासस