अर्नव गोस्वामीसहित परिवार विरूद्ध जाहेरी दर्ता

everest kitchen

ऐजेन्सी । भारतको मुम्बई प्रहरीले रिपब्लिक टिभीका संस्थापक तथा प्रधान सम्पादक अर्नव गोस्वामी, उनकी पत्नी, छोरा र अन्य दुई जनाविरूद्ध जाहेरी दर्ता गरेको छ।
प्रहरीले गोस्वामीलाई पक्राउ गर्न जाँदा उनीसहित उनकी पत्नी साम्याब्रता, छोरा र अन्य दुई जनाले हातपात तथा दुर्व्यवहार गरेको भन्दै बुधबार जाहेरी दर्ता गरेको हो।

प्रहरीले बुधबार गोस्वामीलाई सन् २०१८ मा अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा पक्राउ गरेको थियो। गोस्वामीले आफूलाई पक्राउ गर्नेबेला प्रहरीले हातपात गरेको आरोप लगाएका थिए। प्रहरीको भ्यानमा राखेर लैजाँदै गर्दा उनले सो कुरा बताएका थिए।

अहिले प्रहरीले उनीहरूविरूद्ध मुम्बईको एनएम जोशीमार्ग पुलिस स्टेसनमा जाहेरी दर्ता गरेको हो। गोस्वामीकी पत्नी साम्याब्राताले हस्ताक्षर गर्न दिइएको पक्राउ पुर्जीसमेत च्यातेको जाहेरीमा उल्लेख गरिएको छ।

द वायरका अनुसार उनीहरूविरूद्ध प्रहरी हवल्दार एसजी तन्भाडेले उजुरी दिएकी हुन्। बुधबार अलिगाउगको अदालतले उनलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।