परिभाषा : अनामिका सजल

everest kitchen

लघुकथा : परिभाषा

अनामिका सजल

एउटा सुन्दर पुतली उड्दै अायो । निलिमाले अौँला दिई ,थपक्क बस्यो । पुतली तिर संकेत गर्दै उसले भन्यो ” सुन्दरताको प्रतीक पुतली ……” सायद तर्फ पुलुक्क के हेरेकी थिई निलिमाले ,अौँलामा बसेको रंगीन पुतलीले आफ्नो उडान भर्यो । उड्दै गरेको पुतली हेर्दै भनी ” सुन्दरताको प्रतीक तर विषाक्त पनि ”

“सुन्दर चीजहरु नै किन बढि बहु परिभाषित हुन्छन् ?”
“जस्तै ?” “जस्तै , …… यहि पुतली हेर न त्यति सुन्दर छ त्यसको अावरण , तर विष बोकेको छ शरिरमा ”
“प्रकृतिले हरेक प्राणीको प्राण रक्षाका निमित्त कुनै न कुनै अस्त्र दिएको छ नि ”

सायद ,अघि पुतली आएर बसेको निलिमाको अौंला खेलाइरहेको छ । निलिमाको मन आधा सायदको क्रिडारत अौंलामा अल्झेको छ आधा चाहिँ छेउछाउमा आउने जानेहरुका आँखाहरुसँग तर्सिरहेको छ ।

” ओइ ” “हुम ” ” तिमी पुतली नबन ल” गोला गोला चञ्चल आँखाहरु उठाएर सायद तर्फ हेर्दै निलिमाले भनी ” सुन्दरतासँग डराएको कि विषाक्तता सँग ?? ”
अलि गम्भीर भएर सायद बोल्यो ” दुवै ” ” कायर ” निलिमाको अनपेक्षित जवाफले सायद प्रसंग बाहिर गएँ कि भनेर सजग भयो र लट्पटिएर प्रतिप्रश्न गर्यो ” “कसरी कायर ? ” अनि डराउनु बहादुरी हो र ?”

निलिमाको प्रतिप्रश्न बाट बच्न उसले प्रसंग बदल्ने कोसिस गर्दै भन्यो ” कफि लिने ? ” ” नो ” “चिया ?” “नो ”
” चुप्पा?” सायदको चलाखीलाई एक धर्सो मुस्कानले हराइदिन्छे निलिमा । कुन सुन्दर , कुन कुरुप , कुन विष , कुन अमृत त्यो त हाम्रा आवश्यकता र उपयोगिताले निर्धारण गर्ने कुरा हुन् ।

काभ्रे