लघुकथा : जुक्त्ति
मञ्जुश्री गिरी
कृष्ण राजवंशी हाम्रो कार्यालयमा आएको पाँच वर्ष भयो । सरुवाको हल्ला चल्छ तर त्यसले उनलाई छुँदैन । उनी हाकिमले रुचाएका मान्छेमा पर्छन् । हतपत सरुवा नहुने । कार्यालय पनि त्यस्तै पर्यो । अप्ठयारो चाहिँ परेकै जस्तो छ । घरमा जेनतेन खेतीपातीले खान पुग्छ । सलाई, नूनजस्ता सामान्य खर्च घरभाडाले पुग्छ । छोराछोरी पढाउने खर्च तलबबाट जान्छ ।
दिनदिनै सेकुवा रक्सी धाउँदा निक्कै ऋण भइसकेछ । मसँग पनि सापटी मागे । मैले ‘पैसा छैन सर । ब्याजमा लिने भए एक महिनाको तलब दिन्छु’ भनेँ। मेरो ब्याज सुनेर तर्सिए उनी । बुढीसँग जुक्त्ति निकाल्नु पर्छ होला भन्दै थिए । श्रीमतीले पालेको कुखुरा खसी बेचबिखनका पैसा पेवा हुँदोरहेछ । के जुक्ति थियो कुन्नि भोलिपल्ट उनी मुस्कुराइरहे ।
भोलिपल्ट अफिस आउँदा उनको कानमा अबिर देखेँ । “सर, के भयो ? कानमा अबिर छ त ।” “रञ्जनाजी ! सोझो औँलाले घिउ नआएपछि यसो गरियो । म रक्सीले मातेर अबिर लगाएर घर गएँ । मेरो सरुवा भयो भनेको बुढी त रुन थाली । उसको दाजु पहाडमा सरुवा भएर जादा, उतैकी केटी ल्याएकाले उनीहरूकी आमालाई मैले पालेको छु । श्रीमती डराई ।” ‘अब के गर्नुपर्छ’ भनेपछि हाकिमलाई पैसा ख्वाउनुपर्छ भनेर बीस हजार ल्याइयो ।