लघुकथा : माग
हरि थापा
रमेशको परिवारमा पाँच जना थिए । उसका छोराछोरी, श्रीमतीसहित बूढी आमा हुनुहुन्थ्यो । आर्थिक अवस्था भने त्यति राम्रो थिएन । परिवार पाल्न पनि धौधौ परिरहेको थियो । त्यसमाथि परिवारको माग पनि दिनानुदिन बढ्दै गएको थियो । परिवारको पेट पाल्न गाह्रो परिरहेको बेला माग पूरा गर्न सक्ने कुरै थिएन । उनीहरूको माग पूरा गर्न नसकेकोमा घरमा दिनदिनै मनमुटाउ भइरहन्थ्यो ।
घरको अवस्था सुधार्ने विचारले रमेशले विदेश जाने विचार गर्यो । परिवारको मन्जुरी भयो । आमा भने देशमै केही गर्न सल्लाह दिनुहुन्थ्यो । आमाको सल्लाहको बाबजुद पनि उसले विदेश जाने टुङ्गो गर्यो । छोराछोरीको बाबु भइसकेको छोराको निर्णयलाई आमाले काट्न सक्नुभएन । उहाँको मनले नचाँहदानचाँहदै पनि साइतको टीका लगाइदिनै प¥यो ।
श्रीमती र छोराछोरीको मागको फेहरिस्त व्यागमा सुरक्षित राख्यो । उनीहरूले आआफ्नो मागसहित रमेशलाई बिदा गरे । उसले आमालाई सम्झ्यो । आमाको मागलाई सम्झ्यो । केही पाएन । “तपाईँलाई चाहिँ के ल्याइदिऊँ आमा ?” उसले आमालाई सोध्यो । “मलाई केही पनि ल्याउनु पर्दैन बाबु । जुन लक्ष्य लिएर जाँदैछस् त्यो पूरा गरेर आएस् । त्यत्ति भए पुग्छ ।” भनेर रमेशको थाप्लोमा हात राख्दै तर्र आँसु निकाल्नुभयो आमाले । उहाँको मनभरिको आशीष् थापेर विदेशतिर लाग्यो ऊ ।
रमेश निकै वर्ष विदेश बस्यो । धेरै दुःख ग¥यो । परिवारको मागको फेहरिस्तअनुसार सामान किन्यो । आमालाई सुहाउँदो केही भेटेन र नेपालमै किन्ने विचारले घर आयो । उसलाई देखेर घरपरिवारको अनुहारमा खुसीको रङ छायो । सबै उसका अघि पुगे । आआफ्ना मागअनुसारका सामान आए नआएको बारेमा उत्सुकतासाथ उसलाई घेरे ।
त्यसै बेला भान्साबाट आमाको माग आयो, “बाबु पहिला खाना खान आऊ, कति भोक लागेको होला ।”