लघुकथा- कुर्सी
अङ्कुर चन्द
ऊ कुर्सी नजिक गयो र थचक्क बस्यो ।अब ऊ ठूलो भयो, अरु सबै साना । जसले त्यो कुर्सीमा पुर्याएका थिए उनैलाई बिर्स्यो । उसको संगत बद्लियो । आफ्ना सहयात्रीहरु, सहयोगी हातहरू कसैको कुरा सुन्न उसले कोशिस गरेन। बरु भ्रष्टाचार, मोजमस्तीमा अभ्यस्त भयो । आफ्नो भुँडी भर्यो टन्नै। आफ्नो शरीरको तौल बढायो टन्नै । उसलाई आफूबाहेक अरु कोही पनि प्यारो लाग्न छोड्यो । यसरी नै चार वर्ष बितेपछि बढेमानको शरीर बोकेर गाउँतिर फर्किने सोच बनायो फेरि त्यही कुर्सीको आश गरेर । त्यति बेलासम्म ढिलो भइसकेको थियो । कुर्सीको खुट्टाहरू बढेमानको बकम्फुसे शरीरको भार बोक्दै थाकिसकेका थिए । त्यो शरीरको भार थाम्न नसकेर कुर्सी भाँचियो र ऊ बरल्याङ लड्यो । फेरि कहिल्यै ऊ त्यो कुर्सीमा बस्न सकेन ।
कञ्चनपुर