लघुकथा : मन
राजीव घिमिरे
विदेशमा बसेको छोरा र बाबुको जुममा धेरै दिन पछि कुरा भयो । अनुहार हेरेर कुरा नगरेको पनि धेरै भइसकेकोले उसकी आमाले आजै कुरा गर्न धेरै नै जोड गरिन, सपना नराम्रो देखेको रे, केही अनिष्ट हुँदै छ जस्तो लाग्यो रे ! त्यसैले कुरा गर्न कै लागि बाबुलाई टाढाको मोबाइल मर्मत पसल सम्म कसैले लगि दिएको थियो ।
के कुरा भयो भनेर जान्न कुरेर बसी रहेकी आफ्नी बुढीलाई उसले भन्यो “छोराको अनुहार अलि मलिन र कुरा लरबरिएको पो थियो, इन्टेनेट पनि बेला बेलामा गइ राखेको थियो, कामले धेरै नै थिचेर होला थाकेको निन्याउरो अनुहार थियो, अनि विचरा सँग अलि राम्रो इन्टरनेट राख्ने पैसा पनि छैन जस्तो छ बेला बेलामा काटिइ रहेको थियो, हामीले कसै गरि केही पैसा पठाउन पर्ने पो हो कि?”, आमाले हातमा लगाएको सुनको बाला तिर यसो हेरिन, बाबुलाई त्यो देखेर नरमाइलो लाग्यो र आफै प्रति थुक्क अनुभव गर्यो ।
उता छोराले आफ्नो साथी सँग कुरा गर्दै थियो “क्या, मेरो बाउले पनि आज कुबेलामा फोन गरेर, बल्ल अलि अलि मजा आउन थालेको थियो, सुरु गरि सकेको छोड्न पनि मनले मानेन, त्यसैले जुमलाई बीच बीचमा काट्दै वाइनको चुस्की पो लिन पर्यो ।”