लघुकथा : दुई बन बिचको चहुर
खेमलाल पहारी
उत्तर, दक्षिण दुईतिर घना जङ्गल बिचमा सानो चिटिक्क परेको रुमाले चहुर थियो l चहुरको बिचोबिच र छेउछाउ हुँदै ससाना खोल्सा खोल्सी काखीमा कन्चन चिसो पानी बोकेर वर्षभरि अनवरत कलकल कुदिरहेका हुन्थे l यिनले सिंचेर चहुरमा कलिला नरम घाँस र बुट्यानका भ्रुणहरू जन्मदै तन्नेरी हुन्थे l
दुवै बनमा बनचरहरूको सङ्ख्या अत्यधिक थियो l त्यहाँको घाँसपातले उनिहरुलाई पुग्दैनथ्यो त्यसैले उनिहरु बेला बखत मिठो घाँस,चिसो पानी र आराम खोज्दै चहुरमा आउँथे l बिस्तारै बनचरहरूको चहुरसँग लगाव बढ्न थाल्यो l चहुरमै बास बस्ने र वरपरको घाँसमा आफ्नो प्रभुत्त्व जमाउने रहर दुबैतिरका बनचरहरूमा जाग्यो त्यसैले उनिहरूले सुख्खायाममा पनि चहुर छोडेनन् बरु समुह बाँडिएर भिड्न थाले l चहुरका किरा-फट्यांग्रा, छेपारा, भ्यागुता, मुसा, खरायो, फिस्टे, हुटिट्याऊँ कहिले वारिकाबाट मिचिए त कहिले पारिका l चहुरका गोब्रेकिरा र फट्यांग्रा अनि तिनलाई खाएर पेट भर्ने छेपारा निकै परको जङ्गलमा बसाईं सरे l
यता चहुरका चौकीदारहरु कहिले उत्तरका त कहिले दक्षिणका बनचरले छोडेको सिनोमा उन्मत्त भएर नांगै नाच्ने गर्दथे l मातेको बेलामा उनिहरूले दुबै पक्षलाई आलोपालो यो चहुर, खोल्साखोल्सी सबै हजुरकै त हो भन्न समेत पछि परेनन् l कहिलेकाँहीं जसै तिनका होस केहि समयकालागि खुल्थे ति हातमा लौरो लिएर बनचरहरूलाई परपर सम्म खेद्थे पनि तर जब पश्चिमबाट बहेको हावामा उत्तर – दक्षिणको सिनोको गन्ध मिसिएर तिनको नाकका पोरामा घुस्दथ्यो, तिनीहररूको सुद्दी हराइहाल्थ्यो l
समयको अन्तरसँगै चहुरका चौकिदारहरू मात्र नभै चरा मुसाको पनि बोली बदलियो, रहन सहन चालचलन बदलियो र बदलियो तिनले सास फेर्ने हावा l
बर्षौंदेखि चहुरमा उत्तर – दक्षिणका बनचरहरूको राईंदाइँ पालैपालो चलिरहेको छ l चौकिदारहरू को दिनचर्या बदलिएको छ उनीहरू स्टिल -यापरको बिफले दाँत माझ्छन् र होलिवाइनले कुल्ला गर्छन् l उता बनको सिमाना दिनानुदिन बढ्दै छ l यता चहुर नासिदै छ l
अस्ति दक्षिणको बनपाले आएर चहुर नापेर फर्कियो l अब उत्तरको बनपाले दलबल समेत चहुर नाप्न आउने रे l दुबै बनको परिधिको ठुलो खोला पारि नव चहुरबादी स्यालहरू मिचिएको चहुर सीमाको फिर्तिको लागि हुईयाँ हुईयाँ गर्दै थिए l