भिमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् ।
हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन शुरु हुने आयोजनका मेकानिकल इञ्जिनीयर अमित सिंहले बताए । उनकन अनुसार पहिलो आयोजनमा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।
कूल रु तीन अर्ब १५ करोड लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको रु दुई अर्ब ३५ करोड ऋण लगानी रहेको छ । दोलखा जिल्ला र रामेछापको सीमा भएर बग्ने खोलालाई फर्काएर रामेछापको चुचुरेमा विद्युत्गृह निर्माण गरिएका छन् ।
आयोजनको निर्माण र प्रशारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोेसे, रस्नालु, बेताली लगायतका स्थान प्रभावित हुने छन् । ।