भुकम्पपछि ६ लाख ६ हजार ५ सय ५ निजी आवास पुनःनिर्माण

everest kitchen

काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकार, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणका अनुभव आदानप्रदान गर्न विज्ञ तथा अभ्यासकर्ताबाट प्राप्त सुझावले सहयोग गर्ने बताए । प्राधिकरणले अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गरी अनुभव आदानप्रदान गर्ने तयारी गरेकामा कोरोना भाइरसको सङ्क्रमणका कारण केही ढिला हुने जनाइएको छ । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतमा देखिएका कमीकमजोरी सच्याउँदै आगामी दिनमा पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाए ।

प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनःनिर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कार्यपत्र तयार गरिरहेको छ । आज उद्घाटनलगत्तै निजी आवास पुनःनिर्माणसम्बन्धी पत्र कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले शहरी क्षेत्रमा कम जमिनमा बनेका घरमा बहुस्वामित्वका कारण केही समस्या आएको बताए।

प्रवलीकरण लाभग्राही सूचीमा रहेका भूकम्पपीडितको पुनःनिर्माण सुस्त रहेको जानकारी सो अवसरमा गराइएको थियो । ग्रामीण क्षेत्रमा निजी आवास पुनःनिर्माण अन्तिम चरणमा पुगिसकेको प्राधिकरणले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए । लाभग्राही सूचीमा समावेश भएकामध्ये ७७ हजार ३२५ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् । जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ । पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने छ । तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ ।