सामुदायिक कृषि सहकारी संस्था नकटाझिजको ९औं साधारणसभा सम्पन्न

everest kitchen

सुरेन्द्र महतो

धनुषा । प्रदेश न . २ धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । महेन्द्रनगरमा कार्यालय संचालन गर्दै आएको सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारणसभा नक्टाझिजमा गरिएको छ ।

मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित मिथिला चौकमा रहेको सामुदायिक भवनको सभाहलमा साधारणसभा गरिएको छ । सामुदायिक कृषि सहकारी संस्था लि.का अध्यक्ष रितलाल महतोको अध्यक्षता तथा मिथिला नगरपालिका वडा नं.२ का वडाअध्यक्ष विहारी महतोको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको अवसरमा संस्थाका ऋण उपसमितिका संयोजक राजेन्द्र महतोले स्वागत मन्तव्य राखेका थिए । यस्तै संस्थाका प्रबन्धक ललित कुमार महतोले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त सामुदायिक कृषि सहकारी संस्थामा अहिले १ सय ७४ महिला शेयर सदस्य र ३३४ पुरुष शेयर सदस्य गरी जम्मा ५ सय ८ जना शेयर सदस्य रहेका छन् । सो संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा नाफा तर्फ रु. १२ लाख ६९ हजार ८ सय ९३ रुपैयाँ आम्दानी गरेको संस्थाका प्रबन्धक ललित कुमार महतोले बताएका छन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा हालसम्म संस्थाका शेयर रकम ४५ लाख ६२ हजार ३ सय रहेको छ, भने बचतमा १ करोड २५ लाख ७६ हजार १ सय ८२ रुपैयाँ रहेको छ । यस्तै संस्थाले अहिले १ करोड ४१ लाख ८१ हजार ६ सय ३५ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । सामुदायिक कृषि सहकारी संस्थाले रेमिटान्सको कारोबारबाट ३ लाख ३१ हजार ४ सय ३७ रुपैयाँ आम्दानी आयव्यय विवरणमा जनाएको छ । यता स.स्थाले ऋण लगानीको व्याजबाट असारसम्ममा २८ लाख ४९ हजार ७ सय ६० रुपैयाँ प्राप्त गरेको जनाएको छ ।

यता स.स्थाले यस वर्षदेखि धितो राखेर ५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने संस्थाका अध्यक्ष महतोले घोषणा गरेका छन् । संस्थाले विना धितोको बचतको आधारमा एक लाखसम्मको ऋण लगानी गर्दै आएको छ । कोरोनाको कारण भएको लकडाउनले आर्थिक र रेमिटान्सको कारोबार केही सुस्ताएको भएपनि लक्ष्य अनुसार कार्य र प्रगति संतोषजनक नै भएको अध्यक्ष महतोले बताए ।

साधारणसभा कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष देवेन्द्र महतो, वर्तमान उपाध्यक्ष कौशल्यादेवी महतो, ऋण समिति संयोजक राजेन्द्र महतो, लेखा समिति संयोजक गणेश साह, हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो, रेडियो स्वागतमका समाचार संयोजक पत्रकार विनोद कुमार महतो, क्षीरेश्वर उद्योग वाणिज्य संघ महेन्द्रनगरका अजय कुमार महतो, रामसजिवन महतो लगायत संचालक समिति, शेयरधनी, बचक कर्ता, ऋणी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन टेक कुमार महतोले गरेका थिए ।

यसैबीच साधारणसभाको अवसरमा संस्थाको ४ वर्षको कार्यकालको लागि संचालक समिति, ऋण समिति र लेखा समिति समेत चयन गरिएको छ । सो समितिको पदाधिकारीहरुमा फेरी पनि पुरानै पदाधिकारीहरुलाई सर्वसम्मतिले चयन गरेको संस्थाका अध्यक्ष रितलाल महतोले जानकारी दिएका छ । संस्थाका नव पदाधिकारीहरुलाई प्रमुख अतिथि वडाअध्यक्ष विहारी महतोले माला अविर लगाएर सम्मान गर्दै सपथ खुवाएका थिए ।

पछिल्लो समय ग्रामिण क्षेत्रमा आम मानिसहरुको चासो सहकारीप्रति बढ्दै गएको छ । गाउँ घरमा चर्को व्याज तिरेर साहु महाजनबाट ऋण लिँदै आएका सर्वसाधारणहरु अहिले सहकारीमा बचत गर्दै ऋण लिन थालेपछि चर्को व्याज तिर्ने झन्झटबाट छुटकारा पाउन थालेको बताइएको छ ।