लघुकथा : बिरामी
छविरमण सिलवाल
संधै म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कौतुहल बढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसको आँखा परयो, र सोध्यो ‘बाबा अरू गाडी गुड्दा त कराउँदैनन् । यो गाडी चाहिँ किन कराउँदै हिड्छ ।’ मैले भने ‘बाबु यो एम्बुलेन्स हो, यसमा बिरामीहरूलाई राखेर अस्पताल लैजाने गरिन्छ । छिटोछिटो लैजानको लागि यो गाडी कराएको हो यसलाई सबैले बाटो छोडिदिनुपर्छ । यसको बज्नेलाई साइरन भनिन्छ । उसले बुझेजस्तो गर्यो र ए ! मात्र भन्यो । मैले उसलाई स्कुलको गेटसम्म पुर्याएर घर फर्के ।
केही दिनपछि अगाडि पछाडि पुलिसको गाडी साइरन बजाउँदै कुद्दै थियो । मन्त्रीको गाडी बिचमा थियो । सडकपेटीबाट म उसलाई स्कुल पुर्याउँदै थिए । फेरि उसको भन्यो ‘आज त विरामीहरू धेरै भएछन् नि बाबा ! पुलिसहरु पनि रहेछन् । बिरामीहरुलाई सुरक्षा पनि चाहिन्छ बाबा ?’ एकै श्वासमा भन्यो । मैले उसको जिज्ञासालाई शान्त पार्दै मैले भने ‘ बाबु , यिनीहरु बिरामी होइनन् । देशका मन्त्रीहरु हुन् । ठूला मान्छेहरू यिनीहरुको सुरक्षाका लागि पुलिसहरु अघिपछि लागेका हुन् ।’ उसले केही बुझें जस्तो गरेर भन्यो । उनीहरु त संधै बिमारी नै हुन्छन् कि क्या हो बाबा ? सधै एम्बुलेन्समा चढ्दा रहेछन् । उसको कुरा सुनेर म अवाक भएँ !