५ सय भन्दा बढी संक्रमित देखिएका स्थानमा एन्टिजेन परीक्षण गरिदै

everest kitchen

काठमाडौं । सरकारले एन्टिजेन विधिबाट ७०० जनाको परीक्षण गर्दा ४१ जनाको पोजेटिभ आएको ईपीडीमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले जनाएको छ ।

काठमाडौंको हटस्पट भनिएका स्थानमा पहिलो दिन ७०० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको महाशाखाको प्रमुख डाक्टर वासुदेव पाण्डेले बताए । ‘सुरुआती चरणको परीक्षण भएकाले पुन: पीसीआर परीक्षण गरेर क्रस चेक गर्छौ,’ पाण्डेले भने ।

सोमबार महानगर क्षेत्रमा कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको थियो । पाण्डेका अनुसार ५०० भन्दा बढी केश भएका स्थानलाई हटस्पट मानिएको छ । ती सबै स्थानमा संक्रमितको कन्ट्याक्टमा आएकाहरुको परीक्षण गरिनेछ । उनले भने, ‘अब बिस्तारै देशव्यापी एन्टिजेन परीक्षण गरिनेछ।’

पाण्डेका अनुसार संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्थानीय निकायको सहयोगमा काठमाडौंका कोरोना हटस्पट क्षेत्रका बासिन्दालाई मात्र एन्टिजेन परीक्षण गरिनेछ । दैनिक ३ हजार देखि ५ हजार जनाको एन्टिजेन परीक्षण गर्ने लक्ष्य छ ।

सोमबार काठमाडौं महानगरपालिकाको ४, ७ र ९ वडामा परीक्षण गरिएको थियो । अब बुधबार (१७ मंसिरमा) १०, १४ र १६ वडाका जोखिम स्थान तोकेर परीक्षण गर्ने तयारी गरिएको पाण्डेले बताए । उनले भने, ‘५ सय संक्रमित भन्दा बढी देखिएका उपत्यकाका सबै स्थानमा परीक्षण गर्नेछौ।’