अन्तर एटीएम शुल्क नि:शुल्क यथावत

everest kitchen

काठमाडौं । राष्ट्र बैंकले अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्था नै अहिले कार्यान्वयनमा आइरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले शुक्रबार दिउँसो सेतोपाटीसँग भने ‘त्यसबारे कुनै सर्कुलर गरिएको छैन, अहिले अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था यथावत् छ।’

उनका अनुसार अन्तर एटिएम कारोबारमा शुल्क लिन पाउनेबारे अहिले निर्णय भइसकेको छैन। बैंकहरूले पनि अहिले नि:शुल्क एटिएमको व्यवस्था नै लागू भइरहेको स्पष्ट पारेका छन्। नबिल बैंकका सूचना अधिकृत सुरेश त्रिपाठीले अन्तर एटिएम कारोबारमा अहिले कुनै शुल्क नलिइएको स्पष्ट पारे।

‘हामीलाई कुनै निर्देशन आएको छैन, राष्ट्र बैंकले यसअघि गरेको शुल्क लिन नपाउने व्यवस्था नै कार्यान्वयन भइरहेको छ’ उनले भने। यसअघि कोरोना भाइरसको महामारी सुरू हुँदा बैंकहरूले नै चैतको दोस्रो साताबाट अन्तरएटिएम कारोबार नि:शुल्क गरेका थिए।