सर्वदलीय बैठकमा सरकारको आलोचना

everest kitchen

काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ।

जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको कांग्रेसको भनाइ थियो। उपसभापति विमलेन्द्र निधिले यो सरकारले शासन गर्ने अधिकारसमेत गुमाएको बताएका छन्।
‘यो सरकारको कामकारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन,’ बैठकमा निधिले भने, ‘संघीयता टिकाउने काम गरेन, उल्टो कमजोर पार्ने काम गरेको छ।’ ‘हाम्रो आधिकारिक निष्कर्ष हो- यो सरकारसँग शासन गर्ने राजनीतिक र नैतिक अधिकार छैन,’ उनले भने।

‘अहिले जे-जति कुरा आएका छन्। यो तपाईंहरूकै कारणले भएको हो,’ सडकमा राजावादीका प्रदर्शनतर्फ संकेत गर्दै निधिले भने, ‘कांग्रेस संघीयता र गणतन्त्रको पक्षमा सधैं रहिरहन्छ।’

तीन घण्टा चलेको ब‌ैठकमा सहभागी दल र नेताहरूले कोरोना रोकथाम र नियन्त्रणमा पनि सरकार असफल रहेकाे र भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् । बैठकमा बोल्ने अधिकांश वक्ताहरूले सरकारको आलोचना गरेका थिए ।