किरात राई लेखक संघले साकेला साहित्य महोत्सव गर्दै

everest kitchen

प्रकाश दिप्साली राई,

सुनसरी । किरात समुदायको महान चाड उधौलीको अवसरमा किरात राई लेखक संघले “साकेला साहित्य महोत्सव २०७७” आयोजना गर्ने भएको छ ।

किरात राई लेखक संघको आयोजनामा पुस ११ र १२ गते उधौलीमा सम्पन्न हुने महोत्सवमा साकेला कविता प्रतियोगिता गरिदैछ । जसको लागि आज(मङ्सिर(२५) सम्म कविता पठाइसक्नु पर्ने छ । भने कविताहरु आउने क्रम जारीनै रहेको पनि बताइएको छ ।

प्रतियोगितासङ्गै भर्चुअल प्रविधिमार्फत् विभिन्न सेसनहरु समेत रहेका छन् । जस अनुरुप महोत्सवको पहिलो दिन वरिष्ठ कवि तथा गीतकार भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’ विषयमा विचार प्रस्तुत गर्नेछन् ।सोही दिन कवि तथा आख्यानकार राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारहरुको भूमिका’ माथि बोल्नेछन् भने र किरात राई लेखक संघका पूर्वअध्यक्ष प्रकाश राईले पनि पहिलो दिननै ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयमा बोल्ने छन् ।

महोत्सवको दोस्रो दिन, मुन्धुम अध्येता भोगिराज चाम्लिङले ‘साकेलाको गरिमा’ विषयमा गहन विश्लेषण गर्नेछन् । दोस्रो दिन साकेला कविता प्रतियोगिताको नतिजासहित महोत्सव समापन हुनेछ । दुवै दिनको कार्यक्रम बेलुकी ४ बजेदेखि आरम्भ गरिनेछ ।कविता प्रतियोगितामा २५ गतेसम्म भेला भएका कविताहरुमध्येबाट संघले ३० वटा कविता छनोट गरी अन्तिम चरणको प्रतियोगितामा लानेछ । अन्तिम चरणमा लगिने कविता सम्बन्धित कविले वाचन गरेको भिडियो पुस ५ गतेभित्रमा इमेलमा पठाउनुपर्नेछ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाण–पत्र, मेडल र पुस्तकहरु पुरस्कार दिइनेछ ।

यता संघका अध्यक्ष खुक्सङ खम्बुले यो पल्टको महोत्सवमा मौलिकता दिने बताए । साकेलालाई लेखनको माध्यमले थप माथी उठाउनको निम्ति साकेला साहित्य महोत्सवको आयोजना गरिएको बताए । उनले थपे “लेखनमा अब हरेक समुदाय अझ सिमान्तकृत, किनारीकृत तथा पिछ्डा वर्गहरुको सस्कृतिलाई लेखनमा खोज्ने अभियानको थालनी गरेका हौँ र चौतर्फी यो कार्यक्रमको चासो बढेको छ, यसले पनि यो महोत्सवले हामीलाई उत्साहित बनाएको छ ।”

गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, हाँस्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) र साहित्यकार राजन मुकारुङले पुरस्कारको प्रायोजन गर्नेछन ।

गायिका मेलिना राई, अभिनेत्री एलिसा राई र कलाकार समृद्धिको तर्फबाट महोत्सवमा सायरेम्मा (किरात संस्कारअनुसार शीर उभाउनी) समेत गरिनेछ । नयाँ अनलाइन