अमेरिकाका सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा उजूरी

everest kitchen

 

वासिङटन । अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् ।

अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार अर्थात् डिसेम्बर १४ मा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रुपमा निर्वाचित भएको घोषणा गर्नेछन् ।

पश्चिम भर्जिनिया राज्य बुधबार राष्ट्रपति पदको निर्वाचन परिणाम प्रमाणित गर्ने अन्तिम राज्य बनेको छ । यस राज्यबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ वटा इलेक्टोरल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति–निर्वाचत जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्ने अनुमान गरिएको छ जबकी राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत मात्र प्राप्त गर्नु हुनेछ । राष्ट्रपति बन्नका लागि कूल ५३८ इलेक्टोरल मतमध्ये २७० मत आवश्यक पर्दछ ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको र राष्ट्रपति पदको नतिजामा शंका लाग्ने निराधार दाबी गरिरहे पनि राज्यहरुले चुनावी मतपरिणाम प्रमाणित गरी पठाएका छन् । निर्वाचन परिणामलाई चुनौती दिई गत नोभेम्बरको चुनावपछि राष्ट्रपति ट्रम्पका तर्फबाट दायर दर्जनौं मुद्दाहरु राज्य र स्थानीय तहबाट खारेज भएका थिए । अमेरिकामा निर्वाचन परिणाम प्रमाणित गर्ने हरेक राज्यका आआफ्नै तरिका र प्रक्रिया छन् ।

इलेक्टोरल कलेज प्रक्रियाको अर्को प्रमुख कदम भनेको निर्वाचनको बैठक हो । यस वर्ष इलेक्टोरल कलेजको बैठक यही डिसेम्बर १४ मा बस्दैछ । यो बैठकले प्रदान गर्ने मतलाई अमेरिकी कंग्रेस समक्ष हस्तान्तरण गरिन्छ । आगामी जनवरी ६ मा बस्ने कंग्रेसको संयुक्त सत्रमा इलेक्टोरल मत गणना र प्रमाणीकरण गरिन्छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी हुनु भएका चार वटा राज्यको मतगणनामा समावेश गरिएका लाखौं मतपत्र खारेज गर्न राष्ट्रपति ट्रम्पले सर्वोच्चमा निवेदन दिएको अमेरिकी संचार माध्यम सिएनएनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सास राज्यका महान्यायाधीवक्ता केन प्याक्सटनले दिएको निवेदनमा जर्जिया, मिचिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यका लाखौं मतपत्र बदर गर्न माग गरिएको छ ।

ऐजेन्सी