लघुकथा : ढोँगी
सरस्वती श्रेष्ठ सरू
आज मितिनी आमा धेरै दिनपछि हाम्रो घरतिर आइन् । कोरोनाको महामारीको समयमा कोही घरबाट बाहिर निस्किएका छैनन् । उनले गेट बाहिरबाटै सन्चो बिसन्चो सोधिन् । मैले भित्रै आउनु भनेँ। तर उनी भित्र आउन मानिनन् । यसो खुट्टा तन्काउन बाटोतिर हिँडेकी नानी टाढा जान्न अब घरै फर्किन्छु । दिदी ,दाइभाउजूको बारेमा सोधेँ राम्रै छ भनिन् । तर मितिनी आमाको अनुहार पहिलेजस्तो उज्यालो देखिन र सोधेँ । ” हजुर अलि बिसन्चोजस्तो देख्छु नि आमा ?”
” म सधैँको रोगी हूँ नि छोरी । अहिले त झन् यस्तो रोगको महामारी फैलिएको छ भन्छन् । मलाई केही दिनदेखि रुघा लागेको छ । न त्यही कोरोना पो लाग्यो । ” आमाले आशंका व्यक्त गरिन् । मलाई पनि डरडर पो लाग्यो । तै पनि भनेँ । नडराउनुस् , घरै बस्नुस् , अरुलाई पनि रुघा सर्ने सम्भावना रहन्छ । तातो पानी पिइ रहनुस् , तातो पानीले बाफ लिइ रहनुस् । बारम्बार साबुन पानीले हात धोइ रहनुस् । आत्तिनु पर्दैन । दाइभाउजू ले हेर्नुहुन्छ । “आफै त नि नानी । अहिले जान्छु भन्दै उनी गइन् ।
घरनजिकैका छिमेकी भए पनि म मेरै कामको व्यस्तताले भेटघाट हुँदैनथ्यो मितिनी आमासँग ,न दाइभाउजूसँग नै । केहीछिन पछि मितिनी आमा रोएको सुनेँ । दाइभाउजूको स्वर चर्कोचर्को थियो । ” अलिकति केही हुन हुँदैन छोरीलाई कुरा लाउन पर्छ ? यसरी घरघरै कुरा काट्दै हिँडेर के पाइन्छ ? देलान् नि तिनैले खान लाउन । छोराबुहारीको हुँदो नहुँदो कुरा काट्दै हिन्ने ? के दिए इनाम ?”
आम्मै नि ! म त छ्क्क परेँ । मीत दाइलाई त बुद्धिजीवी नै ठान्थेँ । अरुको घरमा त निकै अर्ति उपदेश दिँदै हिँड्थे । तर आफ्नै आमालाई तथानाम भन्दा रहेछन् । मसँग मितिनी आमाले तिनको बारेमा केही बोलेकै होइनन् । धत् ! कस्ता ढोँगी रहेछन् ?