नेपाली परिकार संसारमा चिनाउदै मास्टर सेफ सन्तोष

everest kitchen

काठमाडौं । नेपाली खानालाई विश्व सामु चिनाउन सिराहाका सन्तोष साह यतिबेला लागि परेका छन् । सन्तोषले रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिभाको उत्कृष्ट सुचिमा नाम दर्ज पनि गराएका छन् ।

बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ सहभागी भएका सन्तोष प्रतियोगिताको शीर्ष ३ मा उक्लेका छन् । प्रतियोगिताको क्रममा लगातार नेपाली परिकार पेस गरेर निर्णायकहरुको मन जितिरहेका उनले आफ्नी आमालाई सम्झेर बनाएको नेपाली परिकारले निर्णायकको मन जित्दै अन्तिम तीनमा पुगेका हुन । अहिले ‘फाइनल विक’ चलिरहेको छ । फाइनल विकको दोस्रो प्रतिस्पर्धा बुधबार साँझ भएको थियो, जसमा एक प्रतिस्पर्धी आउट भएर सन्तोषसहित तीनजना फाइनल राउन्डमा पुगेका हुन् ।

सन्तोषले पोलेको खसीको मासु, भुटेको चिउरा, नुन खुर्सानी, पुरी, गँगटाको झोल, साँधेको भटमास, रायोको साग, पुदिना, क्रिस्पी प्याज लगायत परिकार बनाएका थिए । डिजर्टको रुपमा उनले कोदोको खिर सर्भ गरेका थिए ।

सिराहाको कर्जन्हा गाउँमा जन्मेका र हुर्केका उनी पाँच वर्षको छँदा बुवालाई गुमाएका थिए । उनलाई आमाले हुर्काएकी थिइन् । साथीहरुसँग गुजरात पुगेका उनले अहमदावादको एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम गरे । त्यहीँबाट प्रख्यात सेफ बन्ने सपना बुन्न थालेका थिए ।

भारत बसाईमा होटल म्यानेजमेन्टको डिप्लोमा पुरा गरेका सन्तोष करिब सात वर्षको मेहनतपछि एउटा फाइभस्टार होटलमा एक्जुक्युटिभ सेफ बन्न सफल भएका थिए । त्यही क्रममा उनले एउटा फुड फेस्टिबल आयोजना गरे र भारतीय सञ्चारमाध्यममा स्थान पाएपछि उनी लण्डन पुगेका हुन ।