कांग्रेसको तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग

everest kitchen

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको हो ।

बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश संविधानको व्यवस्था, भावना र मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । त्यस्तै आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन अध्यादेश ल्याएको भन्दै संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको प्रमुख सचेतक खाँडले बताए ।

प्रमुख सचेतक खाँडले राष्ट्रपतिको प्रमुख दायित्व संविधानको पालना र रक्षा गर्नु भएकाले सरकारले गरेका निर्णयहरु संविधानको प्रतिकुल भए सच्याउन राष्ट्रपतिको भुमिका हुने भएपनि राष्ट्रपतिले त्यो भूमिका निर्वाह गर्न असफल भएको बताए । विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको गणपूरक संंख्या नपुग्ने भएकाले अन्य दलको पनि साथ र सहयोगको आवश्यक पर्ने भएकाले अन्य दलसँग छलफल भइरहेको उनले बताए ।