मलेसियामा विश्व आप्रवासी दिवस सम्पन्न, मलेसियामा झन्डै ३ लाख नेपाली कामदार कार्यरत

everest kitchen

हिमाल टाइम्स
विश्वभरका आप्रवासीहरुले साझा कार्यक्रमको रुपमा मनाउने गरेको कार्यक्रम विश्व आप्रवासी दिवस मलेसियामा पनि सम्पन्न भएको छ ।
पिएनसीसी मलेसियाले आयोजना गरेको विश्व आप्रवासी दिवस कार्यक्रममा मलेसियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाल राजदुतावासका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
सन् २००० डिसेम्बर १८ तारिखलाई आधिकारीक मिति तोकिएर सुरु गरिएको विश्व आप्रवासी कार्यक्रम विश्वभरका श्रमिकहरुले विशेष दिनको रुपमा मनाउने गरेका छन् । आफ्नो देश छाडेर अर्को देशमा आप्रवास भई कार्यरत विशेषगरि श्रमिकहरुले आफ्नो हक अधिकार तथा कर्तव्यको बिषयमा छलफल तथा बिभिन्न कार्यक्रम गरि मनाउने गरिएको हो ।
कोरोना महामारीका कारणले धेरै मानिसहरु उपस्थित गराउन नसकिएको पिएनसीसीका मलेसिया संयोजक मनोज चापागाईले बताए । उनले पिएनसीसीले मलेसियामा एक मध्यस्थकर्ताको रुपमा श्रमिक र नेपाल राजदुतावासका बिच काम गर्ने माध्यम रहेको बताउदै श्रमिकहरुलाई धेरै भन्दा धेरै सहयोग गर्न मलेसियामा रहेका धेरै संघ संगठनहरु एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा जीवन देवान गाउँलेले मलेसियामा धेरै श्रमिकहरुको समस्याको प्रकृति उस्तैउस्तै देखिए पनि ति मध्ये कत्तिको उद्दारहरु भएको छ भन्ने कुराको नेपाल राजदुतावासले प्रगति विवरण उपलब्ध गराइदिए राम्रो हुने बताए ।
त्यसैगरि कार्यक्रममा एनआरएन केन्द्रिय सल्लाहकार शंकर पौड्यालले कोरोना महामारीको समयमा प्राय सबैलाई नै अप्ठ्यारो परेको भएता पनि सकेसम्म बढी पीडितहरुलाई सबै मिलेर सहयोग गर्नुपर्ने धारणा राखेका थिए । उनले मलेसियाले गरेको प्रगतिमा पनि आप्रवासी श्रमिकहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
एनआरएन मलेसियाका प्रथम उपाध्यक्ष सुन्दर आलेले कार्यक्रममा बोल्दै एनआरएन मलेसियाले कोरोना महामारीको समयमा एनआरएन मलेसियाले आफ्नै कोषबाट मलेसियाका नेपाली श्रमिकहरुलाई सकेको सहयोग गरेको र अहिले अन्तर्राष्ट्रिय श्रमिक संगठनबाट आएको बजेट एउटा छुट्टै कार्यदल बनाएर श्रमिकहरुकै हितमा खर्च गरिरहेको बताए ।
कार्यक्रममा नेपाल राजदुतावासका श्रम कन्सुलर दीपक ढकालले आप्रवासको इतिहास र वर्तमानको अवस्थाको बारेमा जानकारी गराउदै संसारभर आप्रवासको कारणले विविधता देख्न पाइएको र यति चाडो प्रगति गर्न सकेको बताए ।
उनले अहिले संसारभर ५० लाखको हाराहारीमा नेपालीहरु आप्रवासी रहेको र ति आप्रवासी नेपालीहरुकै कारणले नेपालमा विश्वका विविधता बारेमा जानकारी पाइएको पनि बताए । त्यसैगरि हाल मलेसियामा टीपोट रहेका २ लाख ९८ हजार झन्डै ३ लाख नेपाली श्रमिकहरु कार्यरत रहेको जानकारी गराए ।