लघुकथा : परिणाम
आत्माराम न्यौपाने
लगातार तीन वर्षदेखि सामाजिक विषयमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयमा आफू पनि सामाजिक शिक्षक बनेर जाँदा गोमा मिसलाई चुनौति र अवसर कुन बढी थियो थाहै थिएन । पहिलाकी सामाजिक शिक्षिका, शब्दकला मिस पनि यसै गाउँकी हुन् भन्ने थाहा पाउँदा उनलाई भेटौँ भेटौँ लाग्यो र एक साँझ भेट्न गइन् ।
उमेरले साठी कटेकी शब्दकला मिस त्यतिबेला सानी नानीलाई आफ्नो दूध चुसाउँदै थिइन् घरमा । सामान्य परिचय पछि गोमाले सोधिन् – होइन, यो उमेरमा पनि …. ?
शब्दकलाले पनि प्रष्टै उत्तर दिइन् – यी मेरा जेठी छोरीका सन्तान हुन् । वर्षेनी एक एक गर्दै छ वटी छोरी जन्माई मेरी छोरीले । समाजले के के भन्यो अनि पोहोरको साल यी सबैलाई छोडेर गई । गर्नै नहुने काम गरी ! आफ्नो ज्यान नै फाल्न नहुने थियो त्यसले ! यो कान्छी नातिनीलाई चाहिँ फुल्याउनै गाह्रो पर्छ अनि आफ्नै दूध चुसाएर झुक्क्याएकी मात्र हो मैले ।
त्यतिकैमा एउटा सानो छोरो पनि टुकुर टुकुर गर्दै शब्दकलाको काखमा आएर बस्यो । उनले उसैगरी आफ्नो अर्को दूध चुसाइन् । गोमाले फेरि सोधिन् – होइन, छोरो पनि रहेछ त, अनि किन देहत्याग….? शब्दकलाले फेरि पनि प्रष्ट उत्तर दिइन् – यो मेरी कान्छी छोरीको छोरो हो । तर यसकी आमाले पनि दिदीको सिको गरेर अस्ति भर्खर मात्र देहत्याग गरी !
गोमालाई बोलौँ कि नबोलौँ भयो एकछिन । मन थाम्नै नसकेर सोधिन् – कान्छीको त छोरो नै जन्मिएको रहेछ त ! अनि किन …. ? काखका नातानातिनाका टाउकामा आँसु चुहाउँदै शब्दकला बोलिन् – हो, छोरै जन्माएकी थिई तर बिबाह नगरिकन … र यो पनि हाम्रो समाजलाई पचेन मिस पचेन ।