मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणका लागि तयारी

everest kitchen

काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले जनाएको छ ।

यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार लिमिटेडले खानेपानी वितरणका लागि तालिका पनि बनाइएकामा त्यसमा मन्त्रालय र बोर्ड पनि सहमत भइसकेका छन् ।

उपत्यकामा अहिले पानी वितरण भइरहेको पाइप सयौँ वर्ष पुरानो भएकाले चुहावट बढी हुनसक्छ । चुहावट मर्मतका लागि चाहिने सामग्री खरिद अघि बढाइएको शाक्यले जानकारी दिए । एकै पटक धेरै जनशक्ति चाहिने हुँदा निर्माण कम्पनीको सूची तयार गरेर राखिएको छ । उनले भने, “त्यो सूची भएपछि एकै पटक धेरैलाई परिचालन गर्न सकिनेछ ।”

त्यस्तै, मेलम्ची खानेपानी चैतसम्म राजधानी पुर्याइने गरि तयारी गरिएको बताएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समिति जनाएको छ ।