काठमाडौं उपत्यका लगायतमा देखिएको वायु प्रदुषण देखि सावधान रहन : विभागको अनुरोध

everest kitchen

काठमाडौं । हिजो पौष २० गते देखि मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकोले सावधानी अपनाउन वातावरण विभागले अनुरोध गरेको छ ।

दुई दिनदेखि काठमाडौंको आकाश धुम्म छ।
बिहानैदेखि काठमाडौंमा घाम झुल्केको छैन। हुस्सु, तुवालोले ढाकेजस्तो देखिएको छ। यसले भिजिबिलिटी घटाएको छ। तर तापक्रम भने घटेको छैन। आज काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस छ। मानिसहरूले घरबाहिर निस्कँदा आँखा पीरो हुनेजस्ता असजिलो महशुस गरिरहेका छन्। वातावरण विभागका अनुसार यसो हुनुमा प्रदूषण बढ्नु हो।

विभागका अनुसार काठमाडौं, विराटनगर र नेपालगञ्जमा पनि यस्तै समस्या छ। यसबाट तपाई हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै एक सुचना जारी गर्दै सावधान अनुरोध गरेको छ ।

विभागको सुचनामा भनिएको छ, ” बिशेष गरी बालबालिका वृद्ध वृद्धा एवं दम खोकि जस्ता श्वासप्रश्वास सम्बन्धि बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकोले उहाँहरुलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किदा विशेष साबधानि अपनाउन वातावरण विभाग हार्दिक अपिल गर्दछ ।”

साथै, काठमाण्डौ उपत्यका बाहेक तराई क्षेत्रका शहरहरु जस्तै नेपालगंज , विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले तराई क्षेत्रका नागरिकहरुलाई पनि बिशेष सावधानी अपनाउन अनुरोध गरिन्छ । साथै फोहोर बाल्दा र आगो बाल्दा समेत वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ । वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भइरहेमा केहि समयसम्म प्रदूषण यस्तै रहन अथवा अझै खराब समेत हुने संभावना रहेको हुनाले विशेष सावधानी अपनाउनुहुन अनुरोध गरिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।