संविधानमाथि ‘कू’ हुँदा सुवास नेम्वाङ लुकेर बस्नु भएको छ, दया लागेको छ: गगन थापा

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन्।

बुधबार सामाजिक सञ्चालनमा लेख्दै थापाले संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक हो भन्नुपर्नेमा कसैले केही सोध्छ की भनेर नेम्वाङ लुकेर बसेको बताएका छन ।

नेता गगन थापा लेख्छन् :

प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।

मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर-”श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो।मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय(Legislative Intent)यस्तो हुँदै होइन”भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।

अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ”कु” हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।

संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।