नेपालमै पहिलोपटक सहुलियत ऋणमा फरक खालको प्रयोग गर्दै कृषि व्यवसायीकरणमा जादै छौँ : अध्यक्ष घर्ती

everest kitchen
advertise

नेता जनार्दन शर्माको पहलमा नेपालमै पहिलोपटक कृषि क्षेत्रमा एउटा फरक खालको प्रयोग गर्दै रुकुम पश्चिममा जिल्लाका सबै ३० हजार किसान परिवारलाई आवश्यकतानुसार सस्तो व्याजदरमा बैंकको ऋण उपलब्ध गराउन स्थानीय तहका सरकार र बैंकका बीच सहमति भएको छ । सोही अनुरुप रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पनि यो कार्यक्रम लागु हुदैछ । उक्त विषय र सिंगो त्रिवेणीको विकास, सुशासन तथा समसामयिक विषयमा केन्द्रित रहेर त्रिवेणी गाउँपालिका अध्यक्ष “झक्कु प्रसाद घर्ती “अभियान” संग हिमाल टाईम्सकर्मी विपेन उलङगेले गरेको कुराकानी सम्पादित अंस यहाँ प्रस्तुत गरेका छौँ :

स्वागत छ यहाँलाई हिमाल टाईम्समा ।

– धन्यवाद यहाँ र यहाँको टिमलाई ।

कुराकानीको सुरुवातमा यहाँबाट गर्न चाहे । तपाईहरुले हालै किसान परिवारलाई आवश्यकतानुसार ऋण उपलब्ध गराउन स्थानीय बैंक बीच सहमति गर्नु भएको छ । यो कस्तो र कस्ताले प्राप्त गर्न सक्ने ऋण हो ?

– हाम्रो त्रिवेणीमा सरकारको अनुदानले मात्रै हामीले त्रिवेणीको सिंगो आर्थिक, सामाजिक रुपान्तरण र कृषि व्यवसायीकरण गर्न नसकिने भएको हुदा स्थानीय बैंकको सहयोगमा सस्तो र सुलभ २ देखि पाँच प्रतिशत व्याजदरमा कृषि ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएका छौं । यो कार्यक्रम तुरुन्तै लागु हुन्छ । यसको लागि त्रिवेणी गाउँपालिकाको तर्फबाट लक्ष्मी बैंकसंग हाम्रो सम्झौता भएको छ । यो ऋण प्रवाहबाट त्रिवेणीका व्यरोजगार युवा, व्यवसायीकरण हुन चाहाने कृषक र उत्पादनमूलक कार्यमा संलग्नलाई समेटेर कृषि आधुनिकीकरण गर्दै आर्थिक उन्नति तिर हामी जाने छौं ।

यो ऋण कृषकलाई मात्रै उपलब्ध छ की अन्य व्यवसायमा पनि उपलब्ध हुन्छ ?

– यो ऋण सबैले पाउछन् । व्यवसाय गर्न चाहानेहरू र आधुनिक कृषि गर्न चाहानेहरुले आवश्यकता ठानेमा र केही गर्ने योजना निर्माण गरेर तोकिएको मापदण्ड पुरा गरेर ऋण पाउनेछन् । यो ऋण अरु जस्तो झन्झटिलो र महङ्गो हुदैन । ऋण लिन इच्छुकहरुको पाँचपाँच जनाको सहकार्य समुह निर्माण गरेर मात्रै ऋण लिन पाउनेछन् । यसको लागि बैंकले आवश्यक कर्मचारीको व्यवस्था गरेर कागजात संकलन गरेर ऋण उपलब्ध गराउछ ।

त्रिवेणी ग्रामीण बस्ती भएकोले पनि यहाँ अधिकांस कृषक नै छन् । हाल पनि उनीहरूको उत्पादनले उचित बजारीकरण नपाएको अवस्था छ । यस बारे तपाईंहरुले के गर्दै हुनुहुन्छ ?

– यो महत्त्वपूर्ण विषय हो । अहिले पनि किसानहरुले स्वविवेक प्रयोग गरेर खरिदबिक्री गरिरहेका छन् । तर अब यसलाई अझ व्यवस्थित गरेर जाने योजनाहरु हामीले ल्याएका छौं । जसको लागि उचित मुल्य अनुसारको खरिदबिक्री केन्द्र स्थापना, फलफूल भण्डारणको अागी चिस्यान केन्द्र (कोल्ड स्टोर), नगदेबालीमा यहाँ प्रमुखत: अदुवा हुने भएकोले त्यसको प्रशोधन केन्द्र लगायतका योजनाहरु अन्तिम चरणमा रहेका छन् । त्यस्तै यहाँ उत्पादन हुने विभिन्न बस्तुहरुलाई ध्यानमा राखेर चिप्स उत्पादन जस्ता खाद्य अौद्योगिक क्षेत्रको कार्यालय तथा योजनाहरु पनि हामीले ल्याएका छौं ।

हामीले सबै टोलमा पुग्ने गरि कृषि सडकको निर्माण गरि सकेका छौँ भने त्यसको स्तर उन्नति गरेर कृषि व्यवसायीकरणमा सहजता प्रदान गर्ने र केही छुटेका स्थानमा पनि सडक छिट्टै पुय्राउछौ ।

तपाईंको पालामा तपाईंको गाउँपालिका भित्र केके परिवर्तन र विकास निर्माणका कार्यहरु भएका छन् ? संक्षिप्तमा बताईदिनुहोस् ।

– हाम्रो गाउँपालिकामा विगतको राज्य संरचनाको गति भन्दा शान्ति प्रक्रिया र संबिधान निर्माण पछि बनेको त्रिवेणीको स्थायी सरकार गति र विकास निर्माणमा गुणात्मक कार्य भएको छ । यस बारे जनताले पनि केही महशुस गरि सकेका छन् । पहिलो कुरा त्रिवेणीमा १० वडा छन् । यहाँका प्रत्येक वडा भित्रका वडा कार्यालय र प्रमुख बस्तीहरुमा सडक बाटो निर्माण गरि सकेका छौं ।

दोस्रो कुरा त्रिवेणीमा पुर्ण विद्युतिकरण गर्ने योजना थियो । सोही अनुसार स्थानीय स्तरमै लघुजलविद्युत उत्पादन योजना अन्तर्गत सिम्रुतु स्थित त्रिवेणी खोलामा २२० किलोवाट र अन्य दुई स्थानमा १२ र ३३ किलोवाट विद्युत उत्पादन संगै केन्द्रीय विद्युत प्रसारण लाईनको सहयोगमा करिब ७९/८० प्रतिशत भूभागमा विद्युत् पुगेको छ भने त्रिवेणी भरी यो बर्ष भित्र विद्युतीकरण गर्ने योजना रहेको छ ।

त्यस्तै स्वास्थ संस्थाहरुको विकास र उन्नति गर्नकै लागि एमबिबिएस डाक्टरसहितको त्रिवेणी गाउँपालिका अस्पताल सञ्चालनमा ल्याएका छौं भने दुईवटा वडा बाहेक सबै वडामा स्वास्थ्य चौकी सञ्चालन छन् ।

खानेपानीको समस्यालाई निराकरण गर्न एक घर एक धाराको नितिअनुसार काम गरेका छौं । कतिपय खानेपानी आयोजनामा मिटर सिस्टम जडान भईसकेका छन् भने पानीको स्रोत नभएको स्थानमा लिफ्ट प्रविधिबाट पानि पुय्राउदै छौँ ।

शिक्षा क्षेत्रको सुधारको लागि सामुदायिक विद्यालयमा १२३ जना निजी शिक्षक राखेर पठनपाठन गराई रहेका छौं भने १२ कक्षा सञ्चालन भएका विद्यालय र क्याम्पसमा पनि जनशक्ति नभएको अवस्थामा हामीले जनशक्ति उपलब्ध गरेका छौँ । प्रबिधि मैत्री शिक्षाको लागि हामीले विभिन्न संस्थासंग सहकार्यमा गरेर काम गरिरहेका छौं ।

यस्तै, हामीले पर्यटन र खेलकुद क्षेत्रको विकास गर्ने क्रममा छौं । विभिन्न पर्यटन सम्भाव्यता स्थानको पहिचान, विकास र संरक्षण गर्ने गरि काम गरि रहेका छौं । त्रिवेणी जनयुद्ध ऐतिहासिक भूमि हो । रुकुम खारा भन्ने वित्तिकै मानिसको मानसपटलमा एउटा छुट्टै चित्र छ ।त्यसैले त्यसलाई मध्यनजर गरेर युद्ध पर्यटन सम्बन्धि कार्यहरु अगाडि बढाएका छौं । युद्ध संग्रहालयको लागि त हामी काम अगाडि बढाएका छौं ।

अब प्रसंग बदलौँ, त्रिवेणीमा पनि भित्र भ्रष्टाचारका गतिविधि त पक्कै होलान् । यसको नियन्त्रण र पारदर्शिता बारे के कस्तो छ ?

– मलाई के लाग्छ भने, घुस दिनु र लिनु मात्रै भ्रष्टाचार हैन ।बिधिगत र नितिगत भ्रष्टाचार हुनेगर्दछन । हामी सुशासन चाहान्छौ । विगतको जस्तो सुशासन लागु गरिनु हुदैन ।जसले भ्रष्टाचारलाई बढ्वा दिदै आएको थियो । तर अहिले हामीले सुशासन लागु होस र आर्थिक हिनामिना नियन्त्रण नहोस् भनेर उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेर काम गरि रहेका छौ । समितिले प्रतिवेदन तयार गर्ने र अध्यक्षले अध्यापन गरेर कहाँ के कस्तो सुधार नियन्त्रण लिनुपर्ने हो । त्यहीँ अनुसार काम गरि रहेका छौँ ।

यतीहुदाहुदै पनि कतिपयले जानअञ्जान र कतिपयले नियत बस पनि आर्थिक हिनामिनाको क्रियाकलापमा समावेश हुने रहेछन् । तर ती सबै दोषी हुन । त्यस्तालाई हामीले नियमन र निगरानी गर्नेदेखि हामीलाई प्राप्त अधिकार अनुसार कारबाही पनि गरेका छौं ।

तपाईंको गाउँपालिका भित्र प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा लेखापालको श्रीमतीको खातामा पैसा राखेको भन्ने खबर थियो नी ?

– हो, त्यो भएको थियो । त्यसले एउटा राष्ट्रिय ईस्युको रुप पनि लिएको थियो । त्यो घटनालाई हामी जनप्रतिनिधिकै संक्रियातामा बाहिर ल्याएर कारबाहीको लागि सम्बन्धित निकायको जिम्मा लगाएका थियौं । मैले अघिनै भने कतिपय जानअञ्जान र कतिपयले नियत बस पनि आर्थिक हिनामिनाको क्रियाकलाप गर्छन् । उहाँहरुले के कसरी यस्तो कार्य गर्नु भयो । मिलेमतोमा वा एक्लै । तर जे भएको थियो, गलत भएको थियो । गाउँपालिकाको सम्पुर्ण आर्थिक कारोबारमा अधिकृत र लेखापालको अख्तियारी हुने हुदा कसले कहाँ ?के कति? कसरी गय्रो ?भन्ने कुरा थाहा पाउन समय लाग्ने रहेछ । यद्यपि त्यो घटनाले पाठ सिकाएको छ । त्यस्तो गल्ति गर्न हामी दिदैनौँ ।

विभिन्न सामाजिक सञ्जालमा यहाँका युवाहरूले गाउँपालिका सरकार प्रति असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । यसलाई चाही कसरी लिनु भएको छ ?              .                                                                – तपाईंले एकदम‌ै महत्त्वपूर्ण र समसामयिक प्रश्न गर्नु भयो । अहिले धेरै जसो युवाहरू विदेश पलायन भएका छन् । केही बेरोजगार अवस्थामा गाउँमै छन् । तर पनि उहाँहरुको अपक्षा अनुसारको कार्य गर्न नसकिएको पक्कै छ । उहाँहरुका लागि रोजगार सिर्जना गर्ने कुरा, उहाँहरुका लागि हामीले विभिन्न निति तथा कार्यक्रम पनि ल्याएर समेट्ने कुरामा ध्यान दिएका छौँ । सकभर कोही पनि युवा रोजगार र स्वरोजगार बनाउने तिर हामी जादै छौँ । जहाँसम्म सरकारले केही पनि गर्न सकेन भनेर सामाजिक सञ्जालमा आउने प्रतिक्रिया छ, त्यो स्वभाविक पनि छ । कतिपय सरकारले गरेका सकरात्मक कार्य, विकास बारे प्रचार नभएको हुदा सरकारले केही नगरेको भन्नेहरु पनि होलान् । हामीले धेरै विकास निर्माण देखि जनभावना अनुसार सकरात्मक कार्य गरेका छौँ । त्यसको प्रचारप्रसार भने कम भएको हो ।

सरकारले प्रतिनिधि सभा विघटन गरेर पनि चुनाव तोकि सकेको छ । स्थानीय स्तरको चुनाव आउन पनि लगभग नजिकिदै छ । फेरि पनि अध्यक्ष बन्ने चाहाना छ ?

– मलाई जहाँसम्म लाग्छ अहिलेसम्म जनभावना अनुसार नै काम गरेको जस्तो लाग्छ । मेरो व्यक्तिगत रुपमा आकांक्षा भने छैन । तर पार्टीले मुल्यांकन गय्रो र जनताको पनि चाहाना भयो र जनताले जनादेश दिए भने मात्रै दोहोरीने भन्ने कुरा आउछ ।

तपाईं नेकपाको तर्फबाट गाउँपालिका जित्नु भएको मान्छे । तपाईंको पार्टी भित्रको विवाद र प्रधानमन्त्रीको कदम बारे के भन्नु हुन्छ ?

– खासगरी नेपाली कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण जिम्मेवारी लियर स्थापना भएको पार्टी र त्यो पार्टी भित्र नेतृत्वमा दुई तिहाइ बहुमतले बनेको सरकार : जनताको अपेक्षा र सर्वहारा बर्गको सरकार हो । पार्टीमा अन्तरबिरोध, संगठनमा तलमाथि हुनेगर्दछ । तर त्यस पार्टी भित्रको कुरा लियर एकाएक संसद विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको बच्चापना हो । यो कदम एकदमै गैर जिम्मेवार र अराजनीतिक कार्य भएको छ । यसको घोर भत्सर्ना गर्नुपर्ने देखिन्छ । यसरी जनतालाई जनघात, विश्वास घात गर्न पाइदैन । संबिधानले नै नदिएको अधिकार प्रयोग गर्दै सनकका भरमा संसद विघटन गरेर मज्जाले बस्न सुहाउँदैन । यसको जवाफ प्रधानमन्त्री दिनुपर्छ ।