युएईमा कोभिड-१९ को नयाँ रुप फेला परेपछि सतर्कता अपनाउन नेपाली राजदूतावास अनुरोध

everest kitchen

काठमाडौं । कोभिड-१९ विरूद्ध उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास युएईले त्यहाँ स्थित सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि देखा परेपछि सतर्कता भनिएको हो ।

कोभिड-१९ को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको भन्दै सामाजिक दूरी कायम गर्ने, सामाजिक जमघट, भीडभाड आदिबाट टाढै रहने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग गर्नेलगायतका कार्यहरू गर्न दुतावासले एक सुचना जारी गर्दैै अनुरोध  गरेको छ।

त्यस्तै , संयुक्त अरब इमिरेट्स (युएइ) मा विगत केही समयदेखि कोरोना भाइरसको संक्रमण फैलिरहेको देखिएको छ । हिजो मात्रै युएईमा एकैदिन २,९९८ ‍ओटा नयाँ संक्रमणका केसहरू देखा परेको युएइको स्वास्थ्य तथा रोकथाम मन्त्रालय बताएको छ । हालसम्म त्यहाँ २ लाख २७ हजार ७०२ जनामा संक्रमण देखिएको छ भने २ लाख ३ हजार ६६० जना निको भएका छन् ।

युएइ सरकारले कोभिड-१९ विरुद्ध भ्याक्सिन सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा युएइका नागरिक एवं युएइमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरूका लागि नि: शुल्क रूपमा उपलब्ध गराएको छ ।