लघुकथा : सोच
गंगा खड्का
“दाइ कहिले आउनुभयो अमेरिकाबाट ?” रमणले आशिषलाई सोधे ।
” अस्ति मात्रै फर्केको भाइ । “आशिषले उत्तर दिए ।”अनि अमेरिकामा निकै अडिनुभयो त ?” रमणको प्रश्न भुइँमा खस्नै नपाई आशिषले भने,” फर्कन त चाँडै फर्कने भनेको ज्वाइँ छोरीले फर्कनै दिएनन् ।”
” छोरीको बिहे भइसकेको हो र दाइ ?” रमणले जिज्ञासा राखे । ” लौ तिमीलाई थाहा छैन । मेरी छोरी आशाले त उतैको अमेरिकनसँग बिहे गरी नि । दुई वर्ष भैसक्यो ।छोरी त भाग्यमानी रैछे । अहिले त छोरो पनि भइसक्यो ।उतैको नागरिक भइहाली । हामी त ढुक्क छौँ ।”
आशिषले छोरीको भाग्यको बखान गरिरहँदा ४ वर्ष अगाडिको आफ्नो छोराको अर्कै जातकी केटीसँग बिहे हुँदाको घटना रमणको मानसपटलमा नाच्न थाल्यो ।
” तेरो छोराले त कहीँ नपाएर अर्कै जातकी भित्र्यायो होइन ? कस्तो बेइज्जती रहेछ । टोल छिमेकमा त तेरो नाकै काट्यो नि ! “रमणको छोराले बिहे गर्दा यसरी सबैलाई उचालेर भाँडभैलो मच्चाउने अरु कोही नभएर तिनै आशिष थिए ।
” हरे ! मान्छेको सोच ! अर्काको छोराछोरीले बिहे गर्दा चाहिँ जात हेर्नुपर्ने । आफ्नाले गर्दा चाहिँ न भूगोल हेर्नुपर्ने , न जात हेर्नुपर्ने ,न धर्म न रीतिरिवाज । अझ अर्काको देशको नागरिक भएकोमा भाग्यमानी रे । आखिर कहिलेसम्म भौतिक सुखको पछि लागेर आफ्नो मातृभूमिलाई लात हानिरहन्छ मान्छे ।” रमण भित्रभित्रै मुर्मुरियो ।